दोधारा चाँदनी । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा पछिल्लो समय चितुवाको आतंक बढ्दै गएको छ। रातको समयमा चितुवा मानव बस्तीमै प्रवेश गरी घरपालुवा पशुमाथि आक्रमण गर्न थालेपछि स्थानीयवासी त्रसित बनेका छन्।
गएराति दोधारा चाँदनी नगरपालिका–६ स्थित रेशमी टोलमा चितुवाले खोरभित्रै पसेर एक बाख्रा मारेको छ। स्थानीय प्रेमकली थापाको खोरमा रहेको बाख्रामाथि चितुवाले आक्रमण गरेको हो।

थापाका अनुसार मध्यरातमा बाख्रा कराएको आवाज सुने पनि चितुवाको डरका कारण आफू बाहिर निस्कन सकिनन्। ‘रातिको समयमा बाहिर निस्किँदा आफ्नो ज्यान नै जोखिममा पर्न सक्ने भएकाले बाहिर निस्कने आँट गरिनँ,’ उनले बताइन्।
बिहान हेर्दा एउटा माउ बाख्रा खोरनजिकै मृत अवस्थामा फेला परेको थापाले बताइन्।
स्थानीयवासीका अनुसार दोधारा चाँदनीका विभिन्न बस्तीमा लामो समयदेखि मध्यरातमा चितुवा आउने र बाख्रामाथि आक्रमण गर्ने क्रम रोकिएको छैन। पटक–पटक घरपालुवा पशुमाथि आक्रमण हुन थालेपछि स्थानीयमा चितुवाको त्रास बढ्दै गएको छ।
स्थानीयले चितुवाको आवतजावत नियन्त्रण तथा मानव बस्तीमा हुन सक्ने सम्भावित जोखिम न्यूनीकरणका लागि सम्बन्धित निकायले तत्काल आवश्यक पहल गर्नुपर्ने माग गरेका छन्।



