दोधारा चाँदनी (कञ्चनपुर) । दोधारा चाँदनी नगरपालिकाबाटै अबको १० देखि १५ दिनभित्र नापी तथा मालपोतसम्बन्धी सेवा सुरु हुने भएको छ। नगर प्रमुख किशोर लिम्बुले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिँदै छिट्टै स्थानीय तहबाटै उक्त सेवा प्रवाह गरिने बताउनुभएको हो।
विगत केही महिनादेखि जिल्ला नापी तथा मालपोत कार्यालयबाट प्राप्त हुँदै आएको सेवा नगरपालिकाबाटै सञ्चालन गर्न आफू मन्त्रालय धाउँदै आएको उल्लेख गर्दै नगर प्रमुख लिम्बुले हालै भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आवश्यक निर्णय गरिसकेको जानकारी दिनुभएको छ।

उहाँका अनुसार मन्त्रालयले हाललाई सम्बन्धित पालिकाले आफैँ सम्पूर्ण कर्मचारी तथा कार्यालयको व्यवस्था मिलाएर स्थानीय तहबाटै भूमि प्रशासनसम्बन्धी सेवा सञ्चालन गर्न सक्ने निर्णय गरेको छ।
यसअघि मन्त्रालयको भूमि प्रशासन शाखाले गत कात्तिक १६ गते देशभरका सबै स्थानीय तहलाई परिपत्र गर्दै आगामी एक महिनाभित्र अनिवार्य रूपमा भूमि प्रशासनसम्बन्धी सेवा सञ्चालन गर्न अनुरोध गरेको थियो। मालपोत ऐन, २०३४ को दफा ८ग तथा मालपोत नियमावली, २०३६ को संशोधित व्यवस्थाअनुसार कात्तिक १३ गतेको मन्त्रीस्तरीय निर्णयका आधारमा उक्त परिपत्र जारी गरिएको थियो।
मन्त्रालयको परिपत्रपछि दोधारा चाँदनी नगरपालिकाले सेवा सञ्चालनका लागि आवश्यक प्रक्रिया अघि बढाउँदै मंसिर ४ गते मन्त्रालयको सङ्घीय तथा प्रादेशिक कर्मचारी प्रशासन शाखामा पत्राचार गरी सात जना कर्मचारी माग गरेको थियो।
निमित्त प्रमुख प्रशासकीय अधिकृत गणेशदत्त मिश्रद्वारा हस्ताक्षरित पत्रमा एक जना नापी अधिकृत, प्रशासन सेवातर्फ चार जना नायब सुब्बा र दुई जना कम्प्युटर अपरेटर वा सहायक कम्प्युटर अपरेटर खटाइदिन अनुरोध गरिएको थियो।
मन्त्रालयले तत्कालका लागि पालिका आफैँले कर्मचारी तथा कार्यालय व्यवस्थापन गरेर सेवा सञ्चालन गर्न सक्ने स्पष्ट पारेसँगै नगरपालिकाले अबको १० देखि १५ दिनभित्रै सेवा सुरु गर्ने तयारी गरेको छ।
स्थानीय तहबाटै नापी तथा मालपोत सेवा सञ्चालनमा आएपछि जग्गा रजिस्ट्रेसन, जग्गाको नापजाँचलगायतका कामका लागि जिल्ला सदरमुकाम महेन्द्रनगर धाउनुपर्ने दोधारा चाँदनीवासीको बाध्यता हट्ने अपेक्षा गरिएको छ। यसले स्थानीय नागरिकको समय र खर्च दुवै बचत हुने विश्वास गरिएको छ।




