कञ्चनपुर । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–८ सुन्दरनगरस्थित नेपाल–भारत सीमा क्षेत्रबाट सशस्त्र प्रहरीले ठूलो परिमाणमा ओखरसहित चारवटा साइकल बरामद गरेको छ।
शनिबार राति करिब ११ बजे नेपालबाट भारततर्फ साइकलमा ओखर लैजाँदै गरेको अवस्थामा सशस्त्र प्रहरीको संयुक्त गस्ती टोलीले ५९० केजी ओखरसहित ढुवानीमा प्रयोग गरिएका चारवटा साइकल नियन्त्रणमा लिएको हो।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वार्टर शैलेश्वरी कञ्चनपुर मातहतका देविस्थान सीमा सुरक्षा गुल्म, बीओपी सुन्दरनगर र बीओपी कञ्जभोजबाट खटिएका तीनवटा टोलीले सीमा क्षेत्रमा गस्ती गर्ने क्रममा उक्त सामान फेला पारेका थिए।
सशस्त्र प्रहरीका अनुसार बरामद ओखरको मूल्य २ लाख ९५ हजार रुपैयाँ र चारवटा साइकलको मूल्य २० हजार रुपैयाँ मूल्याङ्कन गरिएको छ। बरामद सामानको कुल मूल्य ३ लाख १५ हजार रुपैयाँ रहेको छ।
बरामद ओखर तथा साइकल आवश्यक कानुनी कारबाहीका लागि कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।



