दोधारा चाँदनी। कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–४ मा लागू औषध नियन्त्रण तथा रोकथामका लागि सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ। लागू औषधको बढ्दो दुरुपयोगलाई न्यूनीकरण गर्दै स्वस्थ, सभ्य र सुरक्षित समाज निर्माण गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।
बैष्णवी मिडिया प्रा.लि.को आयोजना तथा दोधारा चाँदनी नगरपालिकाको सहकार्यमा वडा नम्बर ४ को सभाहलमा आयोजित कार्यक्रममा २५ जनाको सहभागिता रहेको थियो।

कार्यक्रममा लागू औषधको प्रयोगबाट व्यक्ति, परिवार तथा समाजमा पर्ने नकारात्मक असर, यसको नियन्त्रण तथा रोकथामका उपाय र युवापुस्तालाई लागू औषधको जोखिमबाट जोगाउन अपनाउनुपर्ने सावधानीबारे जानकारी गराइएको थियो।
कार्यक्रममा गैरसरकारी संस्था महासंघ कञ्चनपुरका जिल्ला अध्यक्ष अमिर तिरुवा र माइती नेपालकी संयोजक महेश्वरी भट्टले प्रशिक्षकका रूपमा सहजीकरण गरेका थिए। उनीहरूले लागू औषधको दुव्र्यसनले व्यक्तिको स्वास्थ्य, शिक्षा, पारिवारिक सम्बन्ध तथा सामाजिक जीवनमा पार्ने असरबारे जानकारी गराउँदै यसको रोकथामका लागि समयमै सचेतना फैलाउनुपर्ने आवश्यकतामाथि जोड दिएका थिए।
कार्यक्रमका प्रमुख अतिथि दोधारा चाँदनी नगरपालिका–४ का वडाध्यक्ष भक्तबहादुर सुनार रहेका थिए। त्यसैगरी विशिष्ट अतिथिका रूपमा वडा नम्बर २ का वडाध्यक्ष पदमबहादुर रावलको उपस्थिति रहेको थियो।
कार्यक्रममा लागू औषध नियन्त्रण केवल कुनै एक व्यक्ति वा निकायको प्रयासले मात्र सम्भव नहुने भएकाले परिवार, विद्यालय, स्थानीय सरकार, सामाजिक संघसंस्था तथा समुदाय सबैको सक्रिय भूमिका आवश्यक रहेको विषयमा जोड दिइएको थियो। विशेषगरी किशोरकिशोरी तथा युवापुस्तालाई लागू औषधको जोखिमबारे समयमै जानकारी गराउन सके भविष्यमा हुने सम्भावित सामाजिक तथा स्वास्थ्यसम्बन्धी समस्यालाई न्यूनीकरण गर्न सकिने सन्देश प्रवाह गरिएको थियो।
लागू औषधको दुरुपयोगले युवाको भविष्यसँगै परिवार र समाजमा समेत गम्भीर असर पार्ने भएकाले यसविरुद्ध सबै पक्ष एकजुट भएर लाग्नुपर्ने कार्यक्रमको मुख्य उद्देश्य रहेको थियो।
‘स्वस्थ, सभ्य र सुरक्षित समाजको परिकल्पना, लागू औषध दुरुपयोगविरुद्ध ऐक्यबद्धता’ भन्ने नाराका साथ आयोजित कार्यक्रम पप्पु गुरुङको अध्यक्षतामा सम्पन्न भएको थियो।
कार्यक्रममार्फत लागू औषध नियन्त्रण तथा रोकथामका लागि जनचेतना अभिवृद्धि गर्दै यसको दुरुपयोगविरुद्ध सामाजिक ऐक्यबद्धता कायम गर्नुपर्ने सन्देश दिइएको छ।



