दोधारा चाँदनी- दोधारा चाँदनी नगरपालिका–९ मा प्रहरीले बरामद गरेको भनिएको बहुमूल्य गहना प्रकरणमा अनुसन्धान प्रक्रिया नै अहिले प्रश्नको घेरामा परेको छ। घटना भएको करिब ७२ घण्टापछि वडाध्यक्षलाई मुचुल्कामा हस्ताक्षर गर्न बोलाइएको दाबी, सामानसँगै नियन्त्रणमा लिइएका पाँच जनालाई रिहा गरिएको विषय तथा बरामद गरिएको भनिएको गहनाबारे प्रहरीले हालसम्म औपचारिक जानकारी सार्वजनिक नगरेकाले स्थानीयस्तरमा विभिन्न जिज्ञासा उत्पन्न भएका छन्।
सम्झना धामीका अनुसार घटनाको सुरुवात असार ३२ गते बिहान करिब ४ बजे भएको थियो। उनका श्रीमान् लोकेश धामी घरमा आए पनि घरभित्र नपसी केही समयमै पुनः निस्किएका थिए। त्यसयता उनी सम्पर्कविहीन रहेको उनले बताइन्।

उही दिन बिहान करिब १० बजे पाँच जना अपरिचित व्यक्ति एक्कासी उनको घरमा पुगेको र घरभरि खानतलासी गरेको उनले बताइन्। घरभित्र कुनै सामान फेला नपरेपछि ती व्यक्तिहरूले घरभन्दा केही पर रहेको आँपको रुखबाट एउटा सामानको पोका फेला पारेको उनको दाबी छ।
सम्झना धामीका अनुसार उक्त सामान घरमा ल्याएर उनीहरूले भिडियो कलमार्फत कसैलाई देखाउँदै “सेठ (साहु) हो” भनेका थिए। त्यसको केही समयपछि प्रहरी घटनास्थलमा पुगेको थियो। प्रहरीले सामान बरामद गरी ती पाँचै जनालाई हत्कडी लगाएर नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालयतर्फ लगेको उनले बताइन्।
उनले भनिन्, “घरमा केही भेटिएन। पछि रुखबाट सामान ल्याए। भिडियो कलमा कसैलाई देखाए। त्यसपछि प्रहरी आयो र पाँच जना तथा सामान लिएर गयो। तर ती पाँच जनालाई छाडियो।”
सम्झना धामीले केही दिनदेखि अपरिचित व्यक्तिहरू आफ्नो घर वरपर परिचालित भइरहेको समेत दाबी गरेकी छन्। बरामद गरिएको भनिएको सामान कसको हो र कहाँबाट आयो भन्नेबारे आफूलाई कुनै जानकारी नभएको उनको भनाइ छ।
घटनाको करिब ७२ घण्टापछि दोधारा चाँदनी–९ का वडाध्यक्ष गोपीलाल कडेंललाई इलाका प्रहरी कार्यालयबाट फोन गरी मुचुल्कामा हस्ताक्षर गर्न बोलाइएको थियो। तर घटनाबारे कुनै जानकारी नदिई हस्ताक्षर गर्न आग्रह गरिएको भन्दै उनले अस्वीकार गरेको बताए।
वडाध्यक्ष कडेंलले भने, “घटना भएको झण्डै ७२ घण्टापछि मलाई मुचुल्कामा हस्ताक्षर गर्न बोलाइयो। तर के घटना हो, के बरामद भयो र किन हस्ताक्षर गर्नुपर्ने हो भन्ने कुनै जानकारी दिइएन। जानकारीबिनै हस्ताक्षर गर्न नमिल्ने भएकाले मैले अस्वीकार गरें।”
यस विषयमा प्रतिक्रिया माग्दा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख नेत्रमणि गिरीले घटनाबारे आफूले बुझेर थप जानकारी दिने बताए। उनले बरामद गरिएको सामान सम्बन्धी सम्पूर्ण प्रक्रिया कानुनबमोजिम नै भएको दाबी गरे।
घटनामा अहिले केही महत्वपूर्ण प्रश्न भने अझै अनुत्तरित छन्। प्रहरीभन्दा अघि सम्झना धामीको घरमा पुगेका पाँच जना व्यक्ति को थिए? उनीहरू कुन हैसियतमा खोजतलासमा संलग्न भए? सामानसँगै नियन्त्रणमा लिइएका उनीहरूलाई किन रिहा गरियो? उनीहरूलाई पक्राउ गरिएको थियो वा सोधपुछका लागि मात्रै नियन्त्रणमा लिइएको थियो? यदि उनीहरूमाथि कुनै कसुर देखिएको थिएन भने सामानसँग उनीहरूको सम्बन्ध के थियो?
त्यस्तै, यदि बरामदगी घटनास्थलमै भएको हो भने मुचुल्कामा तत्काल हस्ताक्षर नगराई ७२ घण्टापछि मात्रै किन गराउन खोजियो भन्ने प्रश्न पनि उठेको छ। बरामद गरिएको भनिएको बहुमूल्य गहनाको विवरण, वास्तविक मालिक तथा अनुसन्धानको अवस्थाबारे पनि प्रहरीले हालसम्म कुनै औपचारिक जानकारी सार्वजनिक गरेको छैन।
घटनाको वास्तविक निष्कर्ष अनुसन्धानबाट मात्रै आउने भए पनि उठेका यी प्रश्नको स्पष्ट र तथ्यपरक जवाफ सम्बन्धित निकायले सार्वजनिक गर्नुपर्ने स्थानीयको माग रहेको छ।



