सन्तोष भट्ट । धनगढी उपमहानगरपालिका–४ निवासी २३ वर्षीया पूजा धानुकको शंकास्पद मृत्यु प्रकरणले राष्ट्रिय ध्यान तानेको छ। घटनापछि माइती पक्षले निरन्तर न्यायको माग गर्दै आन्दोलन चर्काइरहेका बेला उनीहरूको आवाज गृह मन्त्रालयसम्म पुगेको छ।
पूजाको मृत्यु भएपछि परिवारले घटनालाई शंकास्पद भन्दै सुरुदेखि नै निष्पक्ष र प्रभावकारी छानबिनको माग गर्दै आएको छ। माइती पक्षका अनुसार घटनाको वास्तविक सत्य बाहिर ल्याई दोषी जोसुकै भए पनि कानुनअनुसार कारबाही हुनुपर्छ।

यसै मागलाई लिएर मृतकका भाइ, आफन्त तथा विभिन्न राजनीतिक प्रतिनिधिहरू काठमाडौंस्थित गृह मन्त्रालय पुगेका छन्। गृह मन्त्रालयमा भएको छलफलमा केन्द्रीय सदस्य विजय जैरु, केन्द्रीय सहकारी विभाग सदस्य नरेन्द्रबहादुर चन्द, सुदूरपश्चिम प्रदेश प्रवक्ता तेजबहादुर ठकुल्ला, बेदकोट नगर समिति कोषाध्यक्ष चक्रदेव अवस्थी लगायतको सहभागिता रहेको थियो।
उनीहरूले गृहमन्त्रीसमक्ष पूजा धानुकको मृत्यु प्रकरणलाई गम्भीर रूपमा लिएर निष्पक्ष, स्वतन्त्र र प्रभावकारी अनुसन्धान गर्न आग्रह गरेका छन्। साथै, अनुसन्धानमा कुनै प्रकारको राजनीतिक वा अन्य प्रभाव पर्न नदिन र दोषी देखिएका व्यक्तिलाई कानुनबमोजिम कडा कारबाही गर्न माग गरिएको छ।
यसअघि पनि धनगढीमा मृतकका आफन्त र स्थानीयवासीले पटकपटक प्रदर्शन गर्दै न्यायको माग गरेका थिए। उनीहरूले अनुसन्धानमा ढिलाइ भएको गुनासो गर्दै सम्बन्धित निकायलाई छिटो निष्कर्षमा पुग्न दबाब दिँदै आएका छन्। केही दिनसम्म शवको अन्त्येष्टि नगरी आन्दोलनसमेत गरिएको थियो।
घटनापछि नेपाल प्रहरीले श्रीमान्सहित पाँच जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको जानकारी सार्वजनिक भएको छ। यद्यपि अनुसन्धान जारी रहेकाले कसैलाई दोषी ठहर गर्ने कानुनी आधार अझै बनेको छैन। घटनाको वास्तविक कारण फरेन्सिक परीक्षण, प्रमाण सङ्कलन र अनुसन्धान प्रतिवेदनपछि मात्र स्पष्ट हुने सम्बन्धित निकायले जनाएको छ।
गृह मन्त्रालयमा भएको छलफलपछि पीडित पक्षले सरकारबाट निष्पक्ष छानबिन हुने आशा व्यक्त गरेको छ। उनीहरूले न्याय प्राप्त नभएसम्म आफ्नो अभियान जारी रहने बताएका छन्।
पूजा धानुकको मृत्यु प्रकरण अहिले कैलाली मात्र नभई सुदूरपश्चिमभरि चासोको विषय बनेको छ। अनुसन्धानको निष्कर्ष र अदालतको निर्णयले मात्र घटनाको वास्तविकता स्थापित हुने भएकाले सम्बन्धित निकायले तथ्य र प्रमाणका आधारमा छिटो तथा निष्पक्ष अनुसन्धान सम्पन्न गर्नुपर्ने माग व्यापक रूपमा उठिरहेको छ।



