दोधारा चाँदनी-कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–९ मा भएको बहुमूल्य गहना प्रकरणमा अनुसन्धान प्रक्रियामाथिको विवाद झन् चर्किएको छ। घटनास्थल मुचुल्का तयार गर्ने प्रक्रियामै प्रश्न उठेपछि प्रहरीको अनुसन्धानमाथि थप शंका उत्पन्न भएको छ।
प्राप्त जानकारीअनुसार घटनाको करिब ७२ घण्टापछि मुचुल्कामा हस्ताक्षर गराउने प्रयास गरिएको थियो। तर सम्बन्धित वडाका जनप्रतिनिधिले उक्त मुचुल्कामा हस्ताक्षर गर्न अस्वीकार गरेको स्रोतको दाबी छ।

त्यसपछि इलाका प्रहरी कार्यालय दोधारा चाँदनीका प्रमुख प्रहरी निरीक्षक कृष्ण सोनीका निकट मानिने दोधारा चाँदनी नगरपालिका–७ का वडा सदस्य सन्दीप उपाध्यायबाट मुचुल्कामा हस्ताक्षर गराइएको बताइएको छ। प्रहरी निरीक्षक सोनीले पनि उक्त हस्ताक्षर वडा सदस्य उपाध्यायबाट गराइएको स्वीकार गरेको दाबी गरिएको छ।
यस घटनाले अनुसन्धान प्रक्रिया कानुनी मापदण्डअनुसार अघि बढेको हो वा होइन भन्ने विषयमा स्थानीय स्तरमा प्रश्न उठ्न थालेका छन्। सामान्यतः घटनास्थल मुचुल्का यथाशीघ्र तयार गरी सम्बन्धित क्षेत्रका प्रतिनिधि वा प्रत्यक्षदर्शीको रोहवरमा प्रक्रिया पूरा गरिने प्रचलन रहेको कानुन व्यवसायीहरूको भनाइ छ।
यता, यस विषयमा इलाका प्रहरी कार्यालय दोधारा चाँदनीको आधिकारिक लिखित धारणा आउन बाँकी छ। साथै, वडा सदस्य सन्दीप उपाध्यायको प्रतिक्रिया पनि सार्वजनिक भएको छैन।
यसअघि पनि यही गहना प्रकरणमा बरामद गरिएका गहनाको स्वामित्व, अनुसन्धान प्रक्रिया तथा प्रहरीको भूमिकालाई लिएर विभिन्न प्रश्न उठ्दै आएका छन्।



