महेन्द्रनगर । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत कञ्चनपुर जिल्ला अधिवेशनको चुनावी सरगर्मी बढ्दै जाँदा युवा नेता महेश चन्दले जिल्ला सभापति पदमा आफ्नो दाबेदारी प्रस्तुत गरेका छन्। नेपाल तरुण दल कञ्चनपुरका अध्यक्षसमेत रहेका चन्दले सभापति पदका लागि मनोनयन फाराम लिएपछि जिल्लाको कांग्रेस राजनीतिमा नयाँ चर्चा सुरु भएको छ।
पार्टी नेतृत्वमा पुस्तान्तरण, संगठनात्मक रूपान्तरण र कांग्रेसलाई समयअनुकूल गतिशील बनाउने एजेन्डासहित चन्द जिल्ला नेतृत्वको प्रतिस्पर्धामा उत्रिएका हुन्। कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ बाट खुला पुरुषतर्फ महाधिवेशन प्रतिनिधि निर्वाचित भएपछि जिल्ला सभापतिमा प्रतिस्पर्धा गर्ने उनको बाटो खुलेको हो।

युवा राजनीतिबाट जिल्ला नेतृत्वको दाबेदारी
लामो समयदेखि तरुण दलमार्फत कञ्चनपुरको युवा राजनीति र संगठन विस्तारमा सक्रिय चन्दले जिल्लाभर युवा परिचालन तथा जनसरोकारका मुद्दामा भूमिका निर्वाह गर्दै आएका छन्। १४औँ महाधिवेशनमा पूर्वमन्त्री एवं कांग्रेस नेता एनपी साउँद निकट समूहबाट तरुण दल कञ्चनपुरको अध्यक्ष बनेका चन्दले यसपटक भने मूल पार्टीको जिल्ला नेतृत्व सम्हाल्ने आकांक्षा अघि सारेका छन्।
कांग्रेसलाई समयसापेक्ष, गतिशील र प्रविधिमैत्री बनाउन जिल्ला नेतृत्वमा युवा पुस्ताको भूमिका आवश्यक रहेको चन्दको भनाइ छ। पार्टीभित्रको गुटबन्दी अन्त्य गर्दै सबै तहका नेता तथा कार्यकर्तालाई समेटेर कञ्चनपुर कांग्रेसलाई एकताबद्ध र बलियो बनाउने लक्ष्य उनले अघि सारेका छन्।
चन्दका मुख्य एजेन्डा
जिल्ला सभापतिको दाबेदारीसँगै चन्दले नेतृत्वमा पुस्तान्तरण र पार्टीको संगठनात्मक रूपान्तरणलाई प्राथमिकतामा राखेका छन्।
उनका मुख्य एजेन्डामा नेतृत्वमा युवा सहभागिता सुनिश्चित गर्ने, आन्तरिक गुटबन्दी अन्त्य गरी पार्टीलाई एकताबद्ध बनाउने, संगठनलाई प्रविधिमैत्री र जनतासँग जोडिने बनाउने तथा सुशासन र भ्रष्टाचारविरुद्ध खबरदारी गर्ने विषय छन्।
त्यसैगरी, जिल्लाका युवालाई स्थानीय स्तरमै उद्यमशीलता र रोजगारीका अवसरसँग जोड्न नीतिगत पहल गर्ने प्रतिबद्धता पनि उनले अघि सारेका छन्।
पुराना नेतासँग युवा चुनौती
कञ्चनपुर कांग्रेसको जिल्ला सभापति पदमा वर्तमान सभापति एवं भीमदत्त नगरपालिकाका मेयर पदम बोगटी, उपसभापति मीनबहादुर सिंह र सचिव भीमराज भट्टलगायतका नेताहरू पनि आकांक्षी देखिएका छन्।
पुराना तथा स्थापित नेताहरूबीच नेतृत्वका लागि आन्तरिक समीकरण बनाउने प्रयास भइरहेका बेला तरुण दलका अध्यक्ष चन्दले पुस्तान्तरण र रूपान्तरणको एजेन्डासहित दाबेदारी प्रस्तुत गरेपछि जिल्ला अधिवेशन थप प्रतिस्पर्धात्मक बन्ने देखिएको छ।



