दोधारा चाँदनी। दोधारा चाँदनी नगरपालिका–७ मा बरामद भएको बहुमूल्य गहना प्रकरण अझै रहस्यमै रहेको छ। घटनासँग जोडिएका लोकेश धामीले सामाजिक सञ्जालमार्फत आफू फरार नभएको र आफ्नै पुर्ख्यौली घरमा रहेको दाबी गरिरहँदा नेपाल प्रहरीको अनुसन्धान र सार्वजनिक जानकारीमाथि प्रश्न उठ्न थालेका छन्।
धामीले फेसबुकमार्फत आफू नेपालमै रहेको, कुनै आपराधिक कार्य नगरेको र समय मिल्नेबित्तिकै पत्रकार, प्रहरी तथा सर्वसाधारणलाई घटनाबारे जवाफ दिने उल्लेख गरेका छन्।

यता, पत्रकार सम्मेलनमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रमुख नेत्रमणि गिरि तथा प्रहरी प्रवक्ता टेक बहादुर रावतसँग “आरोपितलाई अहिलेसम्म किन पक्राउ गर्न सकिएको छैन?” भन्ने प्रश्न उठाइएको थियो। त्यसको जवाफमा देशको प्रतिष्ठा (इज्जत) लगायतका पक्षलाई समेत ध्यानमा राख्दै यो विषयलाई तत्काल प्राथमिकतामा नराखिएको भन्ने आशय व्यक्त गरिएको भन्दै उपस्थित पत्रकारहरूले बताएका छन्।
यस अभिव्यक्तिपछि स्थानीय स्तरमा थप प्रश्न उठेका छन्। यदि आरोपित स्वयं सामाजिक सञ्जालमार्फत आफू नेपालमै रहेको दाबी गरिरहेका छन् भने प्रहरीले त्यसको सत्यता के हो भन्ने विषयमा किन स्पष्ट धारणा सार्वजनिक गरेको छैन? अनुसन्धानको वास्तविक अवस्था के हो? बरामद गरिएको गहनाको वास्तविक परिमाण, मालिक र कानुनी प्रक्रिया कहाँ पुगेको छ?
घटनास्थलको मुचुल्का, ७२ घण्टापछि जनप्रतिनिधिलाई हस्ताक्षरका लागि बोलाइएको विषय, पाँच युवकलाई नियन्त्रणमा लिएर तत्काल रिहा गरिएको विषय तथा त्यसपछि भएका प्रहरी सरुवाले पनि घटनालाई थप विवादित बनाएको छ।
जनताले सत्यतथ्य जानकारी पाउने संवैधानिक अधिकार राख्ने भएकाले नेपाल प्रहरीले यस प्रकरणबारे आधिकारिक र विस्तृत जानकारी सार्वजनिक गर्नुपर्ने माग स्थानीयवासीको छ।



