महेन्द्रनगर, कञ्चनपुर ।
दोधारा चाँदनी नगरपालिका–१ का हरिस चन्द्र भट्टले महाकाली प्रादेशिक अस्पतालमा समयमै हड्डी रोग विशेषज्ञ चिकित्सक उपलब्ध नभएको भन्दै गम्भीर गुनासो गरेका छन्। उपचारमा ढिलाइ भएपछि आफ्नी हात भाँचिएकी छोरीलाई भारतको अस्पतालमा भर्ना गरेर उपचार गराउन बाध्य भएको उनले बताएका छन्।
भट्टका अनुसार छोरीको हात भाँचिएपछि उनी उपचारका लागि महाकाली प्रादेशिक अस्पताल पुगेका थिए। अस्पतालमा एक्स–रे तथा आवश्यक परीक्षण गरिए पनि हड्डी रोग विशेषज्ञ चिकित्सकसँग प्रत्यक्ष भेट हुन सकेन। इमर्जेन्सीमा कार्यरत चिकित्सकले एक्स–रे रिपोर्ट हड्डी रोग विशेषज्ञलाई पठाएपछि विशेषज्ञ चिकित्सकबाट “आज बिरामी भर्ना गर्नुहोस्, भोलि हेर्छु” भन्ने सन्देश आएको उनको भनाइ छ।

तर, साँझ करिब ४ बजेतिर अस्पतालको हड्डी रोग विभागका चिकित्सक अस्पतालबाट बाहिरिसकेको जानकारी पाएपछि तत्काल उपचार सम्भव नभएको भट्टले बताए। छोरीको अवस्था थप जटिल हुन सक्ने चिन्ताले आफूले तत्काल भारतको खटीमास्थित स्वस्तिक अस्पतालमा भर्ना गरी उपचार सुरु गरेको उनले जानकारी दिए।
“हामी नेपाल भारत सीमावर्ती क्षेत्रमा बस्छौं। उपचारका लागि आफ्नै देशको सरकारी अस्पतालमा विश्वास गरेर गयौं, तर समयमै विशेषज्ञ चिकित्सकको सेवा नपाउँदा अन्ततः भारत जान बाध्य भयौं,” भट्टले दुःख व्यक्त गरे। उनले सीमावर्ती क्षेत्रका नागरिकले आफ्नै देशमा सहज र भरपर्दो स्वास्थ्य सेवा पाउने वातावरण बनाउन सम्बन्धित निकायसँग माग गरेका छन्।
यस विषयमा महाकाली प्रादेशिक अस्पतालका प्रवक्ता डा. अर्जुन भट्टसँग प्रतिक्रिया लिन पटक पटक सम्पर्क गर्ने प्रयास गरिए पनि समाचार तयार पार्दासम्म उहाँसँग सम्पर्क हुन सकेन।
यता, स्थानीय सेवाग्राहीहरूका अनुसार महाकाली प्रादेशिक अस्पतालमा विशेषज्ञ चिकित्सक समयमै उपलब्ध नहुने, सेवा प्रवाहमा ढिलाइ हुने तथा बिरामीले पटक पटक सास्ती खेप्नुपर्ने गुनासो दोहोरिँदै आएको छ। उनीहरूले अस्पताल प्रशासनले सेवा व्यवस्थापन सुधार गरी बिरामीले समयमै उपचार पाउने सुनिश्चितता गर्नुपर्ने माग गरेका छन्।



