कञ्चनपुर — दोधारा चाँदनी नगरपालिका–१० कुतियाकवरमा भारतीय पक्षले नेपालतर्फ पर्ने भनिएको दशगजा क्षेत्रमा अस्थायी बाँध निर्माण गरेको स्थानीयले बताएका छन्।
स्थानीयका अनुसार करिब ५/७ दिनअघि वर्षा भइरहेका बेला भारतीय पक्षले कसैलाई जानकारी नदिई नेपालतर्फको दशगजा क्षेत्रमा अस्थायी बाँध निर्माण गरेको हो। उक्त क्षेत्रमा यसअघि पनि सीमा तथा तटबन्धसँग सम्बन्धित विषय उठ्दै आएका छन्।

स्थानीय नैन सिंह सुनारका अनुसार अस्थायी बाँध निर्माण भइरहेको जानकारी पाएलगत्तै आफूहरूले सम्बन्धित नेपाली सुरक्षा निकायलाई जानकारी गराएका थिए। तर, सुरक्षा निकायले घटनाप्रति पर्याप्त चासो नदिएको उनको गुनासो छ।
सुनारले भने, “बाँध बनाएको थाहा पाउनेबित्तिकै सुरक्षा निकायलाई जानकारी दिएका थियौँ। सशस्त्र प्रहरीको टोली पनि आएर हेरेर गयो, तर त्यसपछि के भयो भन्नेबारे कुनै प्रतिक्रिया दिइएन।”
कुतियाकवर महाकाली र जोगबुडा नदीको दोसाँध तथा भारतसँग सीमा जोडिएको संवेदनशील क्षेत्र हो। पछिल्लो समय यहाँ बाढी, नदी कटान तथा तटबन्धका विषयसमेत निरन्तर चर्चामा छन्।
यस विषयमा कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मदन कोइरालाले घटनाबारे सशस्त्र प्रहरीका प्रहरी उपरीक्षक (एसपी)लाई बुझ्न लगाइएको बताएका छन्। घटनाको वास्तविक अवस्था बुझिसकेपछि मात्रै यस विषयमा आधिकारिक प्रतिक्रिया दिन सकिने उनको भनाइ छ।
यसैबीच, दोधारा चाँदनी नगरपालिका सीमा सुरक्षा गुल्म, देविस्थानका गुल्मपति डीएसपी प्रभातकुमार गौतमसँग घटनाबारे प्रतिक्रिया लिन सम्पर्क गर्ने प्रयास गरिए पनि सम्पर्क हुन सकेन।
स्थानीयले भने दशगजा क्षेत्रमा निर्माण गरिएको भनिएको उक्त अस्थायी बाँधको तत्काल स्थलगत निरीक्षण गरी सीमा क्षेत्रको वास्तविक अवस्था स्पष्ट पार्न सम्बन्धित निकायसँग माग गरेका छन्।



