कञ्चनपुर । नेपाली कांग्रेस दोधारा चाँदनीको पार्टी कार्यालयमा पूर्वमन्त्रीद्वय रमेश लेखक र एनपी साउदको उपस्थितिमा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताको बाक्लो उपस्थिति रहेको थियो। पूर्वमन्त्रीद्वय लेखक र साउदलाई कार्यकर्ताले भव्य स्वागत गरेका थिए। भेटघाटका क्रममा स्थानीय नेता तथा कार्यकर्ताले पार्टीको वर्तमान अवस्था, नेतृत्वबीचको विवाद तथा आगामी महाधिवेशनका विषयमा आफ्ना जिज्ञासा र असन्तुष्टि राखेका थिए।

विशेषगरी कञ्चनपुर कांग्रेसमा विगतदेखि नै देखिँदै आएको गुटबन्दी र समूहगत राजनीतिबारे कार्यकर्ताले नेतृत्वसँग प्रश्न गरेका थिए। लामो समयसम्म नेताहरू अलग अलग समूहमा विभाजित भएर अघि बढेको अवस्थामा पार्टी नै फुट्ने अवस्था आएपछि मात्रै एकताको सन्देश दिन खोजिएको भन्दै केही कार्यकर्ताले असन्तुष्टि व्यक्त गरेका थिए।
कार्यकर्ताहरूले “हिजो गुट गुटमा हुँदा हामीले कुन नेताको कुरा मान्ने? अहिले पार्टी फुट्ने अवस्था आएपछि मात्रै एक भएर आउँदा हामीले कसलाई आधिकारिक नेता मान्ने?” भन्दै नेतृत्वसँग प्रश्न गरेका थिए।
नेताहरूबीचको समूहगत प्रतिस्पर्धाको असर तल्लो तहका कार्यकर्तासम्म परेको भन्दै उनीहरूले पार्टीलाई गुट र प्यानलभन्दा माथि उठाउनुपर्ने माग गरेका थिए। आफूहरू कुनै व्यक्ति वा गुटको पक्षमा नभई पार्टीको संस्थागत निर्णय र आधिकारिक नेतृत्वको निर्देशनअनुसार अघि बढ्न चाहेको कार्यकर्ताहरूको भनाइ थियो।
कार्यकर्ताहरूले आगामी १५औँ महाधिवेशनलाई गुटगत स्वार्थभन्दा माथि उठाएर अघि बढाउनुपर्ने तथा लामो समयदेखि पार्टीमा योगदान गर्दै आएका कार्यकर्ताको मूल्यांकन गुटका आधारमा गर्ने प्रवृत्ति अन्त्य गर्नुपर्नेमा जोड दिएका थिए।
कार्यक्रममा बोल्दै भीमदत्त नगरपालिकाका नगर प्रमुख पदम बोकटीले पछिल्लो समय सामाजिक सञ्जाल तथा आन्दोलनका नाममा कञ्चनपुरमा भएको आगजनी र तोडफोडलाई ‘अराजकता’को संज्ञा दिए। तत्कालीन गृहमन्त्री रमेश लेखक, पूर्वमन्त्री एनपी साउद, पार्टी कार्यालय तथा जनप्रतिनिधिका निजी घरलाई लक्षित गरी भएको हिंसात्मक गतिविधिले लोकतन्त्र र विधिको शासनमाथि प्रहार गरेको उनको भनाइ थियो।
बोकटीले रमेश लेखक, एनपी साउद, वीरबहादुर सुनार, दुर्गा भट्टलगायतका नेताहरू दशकौँको राजनीतिक संघर्षबाट स्थापित भएको उल्लेख गर्दै पार्टीलाई विभाजित बनाउने प्रयास रोक्नुपर्ने बताए।
कार्यक्रममा नेता रमेश लेखकले नेपाली कांग्रेसभित्र देखिएको पछिल्लो विवाद, विशेष महाधिवेशनको वैधानिकता र पार्टी एकताका लागि आवश्यक निकासबारे आफ्नो धारणा राखेका थिए।
लेखकका अनुसार १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिको चार वर्षे कार्यकाल र विधानअनुसार थप गरिएको एक वर्ष गरी कुल पाँच वर्षको अवधि आगामी मंसिरमा पूरा हुँदैछ। सभापति शेरबहादुर देउवाले विधानले तोकेको दुई कार्यकालको सीमाका कारण मंसिरपछि नेतृत्व छाड्ने घोषणा गरिसकेको अवस्थामा जबर्जस्ती विशेष महाधिवेशन गरेर नेतृत्व परिवर्तन गर्न खोजिएपछि पार्टीभित्र विवाद सुरु भएको उनको दाबी थियो।
विशेष महाधिवेशनको आधिकारिकताविरुद्ध १४औँ महाधिवेशन पक्षधर सर्वोच्च अदालत गएको र अदालतले निस्सा दिएकाले मुद्दा विचाराधीन अवस्थामा रहेको लेखकले बताए। सर्वोच्च अदालतबाट अन्तिम फैसला नआएसम्म कुन समिति वैधानिक हो भन्ने विषय टुङ्गो नलागेको उनको तर्क थियो।
पार्टी एकताका लागि १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमिति र विशेष महाधिवेशनबाट बनेको कार्यसमितिलाई समायोजन गर्ने प्रस्ताव अघि सार्दै लेखकले गगन थापालाई सभापतिका रूपमा स्वीकार गर्न आफूहरू तयार रहेको बताए। निर्वाचन, सदस्यता छानबिन र अनुशासन समितिमा दुवै पक्षको प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने उनको धारणा थियो।
अदालतमा मुद्दा विचाराधीन रहेको र संविधानअनुसार अझै समय बाँकी रहेको अवस्थामा दुवै पक्षले आ–आफ्ना अधिवेशन तत्काल रोक्नुपर्ने लेखकले आग्रह गरे। अन्यथा समानान्तर अधिवेशनको अवस्था सिर्जना भई पार्टी औपचारिक विभाजनतर्फ जान सक्ने चेतावनीसमेत उनले दिए।
कार्यक्रममा बोल्दै पूर्वपरराष्ट्रमन्त्री एनपी साउदले पार्टीभित्रको विवाद समाधानका लागि आफूले विभिन्न नेताहरूसँग पटक पटक छलफल गर्दै आएको बताए। साउदका अनुसार सभापति शेरबहादुर देउवा, गगन थापा, विश्वप्रकाश शर्मा लगायतका नेताहरूसँग पार्टीको विवाद समाधान र एकताका विषयमा पटक पटक छलफल भएको छ।
साउदले विशेष महाधिवेशनका कारण पार्टीभित्रको समस्या समाधान हुनुको सट्टा थप जटिलता र विभाजनको खतरा पैदा भएको धारणा राखे। पार्टीलाई विभाजनबाट जोगाउँदै संस्थागत रूपमा अघि बढाउन संवाद र सहमतिबाट निकास खोज्नुपर्ने उनको भनाइ थियो।
उनले सभापति शेरबहादुर देउवाको लामो राजनीतिक योगदानको स्मरणसमेत गरे। देउवाले कलिलो उमेरदेखि नै लोकतन्त्रका लागि संघर्ष गरेको उल्लेख गर्दै साउदले विगतमा उनकै हस्ताक्षरबाट पार्टीले चुनाव जितेको राजनीतिक इतिहासलाई समेत स्मरण गराए। लामो राजनीतिक संघर्षबाट स्थापित नेतृत्वको योगदानलाई बेवास्ता गर्न नहुने उनको धारणा थियो।
दोधारा चाँदनीमा सम्पन्न कार्यकर्ता भेटघाटले कांग्रेसभित्रको केन्द्रीय विवाद मात्र नभई त्यसको प्रभाव स्थानीय तहसम्मै पुगेको देखाएको छ। पार्टी फुट्ने अवस्था आएपछि मात्र नेताहरूबीच एकता देखिनु र विगतको गुटबन्दीको हिसाब कार्यकर्ताले खोज्नुले आगामी महाधिवेशनअघि कांग्रेस नेतृत्वसामु तल्लो तहको असन्तुष्टि सम्बोधन गर्ने चुनौती थपिएको छ।



