महेन्द्रनगर । रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित नागरिकका लागि मेगा बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आर्थिक सहयोग गर्ने निर्णय गरेको छ।
संस्थाले प्राकृतिक प्रकोपबाट ज्यान गुमाएका व्यक्तिप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेको छ। साथै घाइते, विस्थापित तथा प्रभावित नागरिकको शीघ्र स्वास्थ्यलाभ, सुरक्षित उद्धार र सहज जीवनयापनको कामना गरेको जनाएको छ।

संस्थाका अध्यक्ष रघुनाथ ओझाद्वारा हस्ताक्षरित विज्ञप्तिअनुसार सामाजिक उत्तरदायित्वअन्तर्गत प्राकृतिक प्रकोप राहत शीर्षकबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख १ हजार १११ रुपैयाँ सहयोग गर्ने निर्णय गरिएको हो।
विपद्को यस दुःखद घडीमा पीडित परिवारप्रति गहिरो सहानुभूति व्यक्त गर्दै संस्थाले सबैलाई आ–आफ्नो क्षेत्रबाट सहयोग गर्नसमेत अपिल गरेको छ। बेपत्ता नागरिकको शीघ्र खोजी तथा उद्धार र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना पनि विज्ञप्तिमार्फत गरिएको छ।
मेगा बचत तथा ऋण सहकारी संस्था लिमिटेडले विभिन्न स्थानमा सेवा केन्द्रमार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ।




