दोधारा चाँदनी, साउन १२। नेपाल चिकित्सक संघको आन्दोलनका कारण दोधारा चाँदनी नगरपालिका–६ स्थित दोधारा चाँदनी अस्पतालले आइतबार (साउन १२ गते) आकस्मिक सेवाबाहेक सबै स्वास्थ्य सेवा एक दिनका लागि बन्द गरेको छ।
अस्पतालका कार्यालय प्रमुख डा. देवेन्द्र सिंह नेगी द्वारा जारी प्रेस विज्ञप्तिअनुसार नेपाल चिकित्सक संघले साउन ११ गते जारी गरेको आन्दोलनको कार्यक्रमप्रति ऐक्यबद्धता जनाउँदै आकस्मिक सेवाबाहेकका सम्पूर्ण सेवा एक दिनका लागि स्थगित गरिएको हो।

नेपाल चिकित्सक संघले भरतपुरस्थित नारायणी अस्पतालमा चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको दुर्व्यवहार र कुटपिटको घटनाको विरोध गर्दै दोषीमाथि कानुनी कारबाही र स्वास्थ्यकर्मीको सुरक्षा सुनिश्चित गर्न माग गरेको छ। सोही आन्दोलनअन्तर्गत देशभरका सरकारी तथा निजी स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका सेवा बन्द गर्ने निर्णय गरिएको जनाएको छ।
अस्पताल प्रशासनले सेवाग्राहीलाई पर्न जाने असुविधाप्रति क्षमा याचना गर्दै आकस्मिक सेवा भने नियमित रूपमा सञ्चालन हुने जनाएको छ।



