दोधारा चाँदनी – कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–९ मा प्रहरीले बरामद गरेको सुन तथा अन्य धातुसम्बन्धी घटनामा मुचुल्का प्रक्रियालाई लिएर प्रश्न उठेको छ।
दोधारा चाँदनी–९ का वडाध्यक्षले घटना भएको करिब ७२ घण्टापछि मात्रै प्रहरीले आफूलाई फोन गरेर मुचुल्कामा हस्ताक्षर गर्न आग्रह गरेको, तर घटनाबारे कुनै जानकारी नदिएको भन्दै हस्ताक्षर गर्न अस्वीकार गरेको बताएका छन्।

वडाध्यक्षका अनुसार, “मलाई ७२ घण्टापछि फोन गरेर मुचुल्कामा साइन गर्नुपर्छ भनियो। तर के घटना हो, के बरामद भयो, मुचुल्का किन गर्नुपरेको हो भन्ने कुनै जानकारी दिइएन। जानकारीबिनै हस्ताक्षर गर्न नमिल्ने भएकाले मैले साइन गरिनँ।”
यस विषयमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख नेत्रमणि गिरीसँग प्रतिक्रिया माग्दा उनले घटनासम्बन्धी सबै जानकारी विभागमा रहेको बताए। मुचुल्कामा वडाध्यक्षको हस्ताक्षर नभएको विषयमा भने उनले, “त्यो विषयमा म बुझ्छु,” भन्ने संक्षिप्त प्रतिक्रिया दिएका छन्।
कानुनी अभ्यासअनुसार बरामद गरिएको वस्तुको मुचुल्का सामान्यतया बरामद गर्ने समयमा वा सम्भव भएसम्म तत्कालै सम्बन्धित साक्षी वा स्थानीय जनप्रतिनिधिको रोहवरमा तयार गरिने गरिन्छ। यद्यपि, कुनै कारणवश ढिलाइ भएको अवस्थामा त्यसको स्पष्ट कारण सम्बन्धित निकायले खुलाउनुपर्ने हुन्छ।
यस घटनामा ७२ घण्टापछि मात्र वडाध्यक्षलाई हस्ताक्षरका लागि बोलाइएको दाबी सार्वजनिक भएपछि मुचुल्का कहिले तयार गरिएको थियो, वडाध्यक्षलाई तत्काल किन सहभागी गराइएन र ढिलाइ हुनुको कारण के थियो भन्ने विषयमा प्रश्न उठेका छन्।
बरामद गरिएको सुन तथा अन्य धातुको परिमाण, प्रकृति र अनुसन्धानको अवस्थाबारे प्रहरीले विस्तृत विवरण सार्वजनिक गरेको छैन। यस विषयमा प्रहरीले थप स्पष्ट पार्ने अपेक्षा गरिएको छ।



