कैलाली । पूर्व–पश्चिम राजमार्गअन्तर्गत कैलालीको अत्तरियादेखि कञ्चनपुरको गड्डाचौकीसम्मको सडक स्तरोन्नतिमा चरम ढिलाइ भइरहेको छ ।
अत्तरियादेखि गड्डाचौकीसम्मको ४० किलोमिटर सडकखण्ड बढी जनघनत्व र जोखिमयुक्त क्षेत्र भएकाले स्तरोन्नतिका लागि २०७८ कात्तिकमा रघुवीर साउदको मैनाचुली–मालिका एमबिए जेभीले तीन अर्ब ७२ करोड रुपैयाँमा ठेक्का पाएको थियो । २०७९ असार मसान्तसम्म सम्पन्न गर्नुपर्ने काम अहिलेसम्म पनि पूरा भएको छैन ।

पहिलो पटक म्याद थप गरी २०८१ असार मसान्तसम्म काम सम्पन्न गर्ने सहमति भएको थियो । त्यसपछि पुनः २०८२ असार मसान्तसम्म म्याद थप गरिएको थियो । पटक–पटक म्याद थप गर्दा पनि काम पूरा नभएपछि अहिले जरिवाना लगाइएको र त्यसपछि कालोसूचीमा राख्ने तयारी भइरहेको डिभिजन सडक कार्यालय कञ्चनपुरका प्रमुख राजेश कुमार यादवले जानकारी दिए ।
उनका अनुसार नौ महिनाभित्र सम्पन्न हुनुपर्ने काम पाँचवर्ष बितिसक्दा पनि जारी छ । निर्माण कम्पनीले निर्धारित समयमा काम पूरा नगरेकाले अहिले जरिवाना समेत लगाइएको उनले बताए ।
निर्माण कार्य सुरु भएको पाँच वर्षसम्म पनि काम सम्पन्न नगरी ठाउँ–ठाउँमा निर्माण सामग्री थुपार्ने तथा खाल्डा खनेर छोडेकाले दुर्घटनाको जोखिम बढेको भीमदत्त नगरपालिकाका प्रवक्ता तथा वडा नं. ५ का वडाध्यक्ष उदमराज अवस्थीले बताए ।
‘निर्माण कम्पनीको लापरबाही र ढिलासुस्तीका कारण दुर्घटनाका घटना बढेका छन्,’ उनले भने, ‘यस विषयमा निर्माण कम्पनी र डिभिजन सडक कार्यालय दुवैको ध्यानाकर्षण गराइसकेका छौँ ।’
उनका अनुसार सडकका केही कल्भर्ट मर्मत गरिएको छैन । जथाभावी निर्माण सामग्री थुपारिएको छ भने केही स्थानमा खाल्डा पारेर जोखिम बढाइएको छ ।
अत्तरियादेखि गड्डाचौकीसम्म कल्भर्ट निर्माण तथा फिलिङको काम गर्ने जिम्मेवारी पाएको मैनाचुली–मालिका एमबिए जेभीले समयमै काम सम्पन्न नगर्दा पनि हालसम्म प्रभावकारी कारबाही हुन सकेको छैन । सडक डिभिजन कार्यालय महेन्द्रनगरका सूचना अधिकारी हरिप्रसाद जोशीका अनुसार निर्माण कम्पनीले अझै करिब २५ प्रतिशत काम गर्न बाँकी छ ।
निर्धारित समयमा काम सम्पन्न गर्न नसकेपछि पटक–पटक म्याद थप गरिएको भए पनि हालसम्म करिब ७५ प्रतिशत मात्र काम सम्पन्न भएको उनले बताए ।
केही दिनभित्रै काम सक्ने प्रतिबद्धता निर्माण कम्पनीबाट आएको भन्दै उनले समयमै काम सम्पन्न नभए कालोसूचीमा राखेर धरौटी समेत जफत गरिने जानकारी दिए ।
यस्तो छ पूर्वमुख्यमन्त्रीसँग नोकझोकको कारण
यसैबीच, निर्माण कम्पनीले महेन्द्रनगरस्थित शिव मन्दिर नजिक अस्तव्यस्त पारेको क्षेत्रमा समेत सुधार नगरेपछि सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री राजेन्द्रसिंह रावल र निर्माण कम्पनीका ट्र्याक्टर चालकबीच भएको नोकझोकको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ ।
उक्त भिडियोमा रावलले काम सम्पन्न गरेर मात्रै त्यहाँबाट जान आग्रह गरिरहेको देखिन्छ भने चालक उनीसँग आक्रोशित हुँदै प्रतिवाद गरेको देखिन्छ ।
आफ्नो जिम्मेवारीको काम नगरी उपकरण लैजान खोज्दा आफूले रोक्न खोजेको र त्यसक्रममा चालक आफूमाथि नै जाइलागेको रावलको आरोप छ ।
‘कालोपत्र गर्ने उपकरण त्यहाँबाट लैजाँदै गर्दा मैले पहिले काम पूरा गर्न आग्रह गरेको हुँ। त्यस क्रममा चालकले ममाथि ट्र्याक्टर चढाउन खोजेपछि त्यसो नगर्न भनेँ । त्यसपछि उनले अपमानजनक र अश्लील शब्द प्रयोग गरे। मैले आफ्नो जिम्मेवारी पूरा गर्न मात्र भनेको थिएँ, ‘रावलले भने, ’ अहिले आधा भिडियो मात्र सार्वजनिक गरेर वास्तविक घटना लुकाउँदै गलत प्रचार गरिएको छ।’
निर्माण कम्पनीको लापरबाहीकै कारण यसअघि एक जनाको ज्यान गइसकेको समेत उनले बताए। यस्ता घटना दोहोरिन नदिन आफूले जिल्ला प्रशासन कार्यालय र सडक डिभिजन कार्यालयलाई पटक–पटक सचेत गराउँदै आएको उनको भनाइ छ।
‘निर्माण व्यवसायीको लापरबाहीका कारण शान्ति निकेतन माध्यमिक विद्यालयकी मञ्जु बढालले दुर्घटनामा ज्यान गुमाउनुपरेको थियो । त्यति हुँदा पनि सडक समयमा निर्माण नगर्ने, सडकछेउमा राखिएका निर्माण सामग्री व्यवस्थित नगर्दा थप जोखिम बढ्ने भएकाले मैले सम्बन्धित निकायलाई निरन्तर सचेत गराइरहेको थिएँ’, उनले भने ।
सडक डिभिजन कार्यालयका सूचना अधिकारीसहितको निरीक्षणपछि अहिले उक्त क्षेत्रमा आवश्यक सुधारको काम गरिएको छ। सामान्य मर्मत सम्पन्न भए पनि कालोपत्रको काम भने अझै बाँकी रहेको छ।
हाल ती क्षेत्रमा निर्माण कार्यले केही तीव्रता पाएको छ। उनका अनुसार अहिले ती क्षेत्रमा छरिएका निर्माण सामग्री हटाउने काम भइरहेको छ।



