दोधारा चाँदनी । नगर खेलकुद विकास समितिका सदस्य तथा नेपाल तरुण दल क्षेत्रीय सदस्य सरोज थापाको असामयिक निधनले दोधारा चाँदनी क्षेत्र शोकमा डुबेको छ। घुम्न निस्किएका थापा एक होटेलमा मृत अवस्थामा फेला परेका हुन्। घटनापछि स्थानीय समुदाय, खेलकुदकर्मी तथा राजनीतिक वृत्तमा गहिरो दुःख व्यक्त गरिएको छ।
थापाको आकस्मिक निधनपछि नगर खेलकुद विकास समितिले व्यक्तिगत रूपमा राहत रकम सङ्कलन गरी शोकसन्तप्त परिवारलाई रु. ४५,००० आर्थिक सहयोग प्रदान गरेको छ। उक्त रकम हस्तान्तरण गर्न दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोर कुमार लिम्बु र उपप्रमुख गङ्गा देवी जोशी स्वयम् मृतकको निवास पुगेका थिए।

नगर खेलकुद विकास समितिका अध्यक्ष रवि गिरीका अनुसार समितिका सदस्यहरूको सक्रियतामा सङ्कलन गरिएको राहत रकम परिवारलाई हस्तान्तरण गरिएको हो। साथै, समितिका सम्पूर्ण सदस्यहरू मृतकको निवासमा पुगेर स्वर्गीय थापाप्रति श्रद्धाञ्जली अर्पण गर्नुका साथै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेका थिए।
यसैबीच, नेपाल तरुण दल नगर कार्यसमितिको संरक्षकत्वमा स्वर्गीय सरोज थापाको पावन स्मृतिमा आज बेलुका ७:३० बजे दोधारा चाँदनी नगरपालिका–१० स्थित फक्किरे चौराहामा विशेष दीप प्रज्वलन कार्यक्रम आयोजना गरिएको छ।
आयोजकले स्वर्गीय थापाप्रति श्रद्धाञ्जली व्यक्त गर्न सम्पूर्ण साथीभाइ, शुभेच्छुक तथा नगरवासीलाई कार्यक्रममा उपस्थित भई श्रद्धाञ्जली अर्पण गर्न हार्दिक अनुरोध गरेको जनाएको छ।



