कञ्चनपुर । सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपालको केन्द्रीय सदस्यमा कञ्चनपुरकी शिक्षा अभियन्ता तथा जनप्रतिनिधि मिना कुँवर निर्वाचित भएकी छन्।
काठमाडौंमा सम्पन्न महासंघको राष्ट्रिय महाधिवेशनबाट भीमदत्त नगरपालिका–३ की वडा सदस्य तथा श्री गौरीशंकर आधारभूत विद्यालय, नौलाखेत विद्यालय व्यवस्थापन समितिकी सदस्य कुँवर केन्द्रीय सदस्यमा निर्वाचित भएकी हुन्।

लामो समयदेखि सामुदायिक विद्यालयको शैक्षिक सुधार, विद्यालय व्यवस्थापन र स्थानीय तहमा शिक्षा विकासका क्षेत्रमा सक्रिय भूमिका निर्वाह गर्दै आएकी कुँवरको केन्द्रीय नेतृत्वमा चयनलाई कञ्चनपुरका लागि महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।
केन्द्रीय सदस्यमा निर्वाचित भएपछि कुँवरले सामुदायिक विद्यालयको गुणस्तरीय शिक्षा, प्रभावकारी व्यवस्थापन, विद्यार्थीमैत्री वातावरण निर्माण तथा देशभरका विद्यालय व्यवस्थापन समितिबीच समन्वय र सहकार्यलाई अझ सुदृढ बनाउन सक्रिय भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरेकी छन्।
उनको निर्वाचनसँगै शिक्षा क्षेत्रसँग आबद्ध विभिन्न संघ संस्था, जनप्रतिनिधि, शिक्षक, अभिभावक तथा शुभेच्छुकहरूले बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्। साथै, उनको नेतृत्व र समर्पणले सामुदायिक शिक्षा सुदृढीकरण अभियानमा नयाँ ऊर्जा थप्ने विश्वास समेत व्यक्त गरिएको छ।



