ट्रेण्डिङ

हेमा भट्ट धनगढी, कैलाली —सुदूरपश्चिम प्रदेश भेटेनरी अस्पताल तथा पशु विज्ञ केन्द्रमा दक्ष र अनुभवी पशु चिकित्सक तथा प्राविधिकको अभावका कारण किसानहरू आवश्यक उपचार सेवाबाट वञ्चित हुँदै आएका छन्। अस्पतालमा उपचारका लागि पुगेका सेवाग्राहीले अपेक्षित सेवा नपाएको गुनासो बढ्दै गएको छ भने, सिकाइका लागि आएका ओजेटी (OJT) विद्यार्थीसमेत समस्यामा परेका छन्। अस्पतालमा पछिल्ला तीन दिनदेखि सर्जरीसहितका अधिकांश उपचार सेवा ठप्पजस्तै बनेको बताइन्छ। “काम गर्ने वातावरण नै छैन, आवश्यक प्राविधिक सहयोग र अनुभवी डाक्टर नहुँदा आएका केसहरू फिर्ता भइरहेका छन्,” एक विद्यार्थीले नाम नखुलाउने सर्तमा बताए। उनका अनुसार प्रदेशस्तरको अस्पताल भनेर टाढाटाढाबाट आशा बोकेर आएका किसानहरू निराश भएर फर्किन बाध्य छन्। किसानहरूका गुनासो अनुसार गम्भीर बिरामी पशु लिएर जाँदा डाक्टर भेटिँदैनन्, औषधि उपलब्ध हुँदैन र उपचारको जिम्मा प्रायः अनुभवहीन विद्यार्थीलाई दिइने गरेको छ। आकस्मिक उपचार, सर्जरी, आरएक्स (Rx) लेखन तथा आवश्यक औषधिको अभावले समस्या झनै जटिल बनेको किसानहरूको भनाइ छ। “प्रदेश अस्पतालकै हालत यस्तो छ भने अन्य स्थानीय तहमा अवस्था कस्तो होला?” एक पशुपालक किसानले आक्रोश व्यक्त गर्दै भने, “जनावर बोल्न सक्दैनन् तर पीडा त उनीहरूले पनि महसुस गर्छन्।” उनले एउटा कुकुरलाई सलाइन चढाउन चार पटकसम्म क्यानोला हानिएको घटनालाई उदाहरण दिँदै यस्तो लापरबाही मानवीय संवेदनामाथिकै प्रश्न भएको बताए। अस्पतालमा कार्यरत ओजेटी विद्यार्थीहरू पनि पर्याप्त मार्गदर्शन र जनशक्ति अभावका कारण सिक्ने अवसरबाट वञ्चित भएको बताउँछन्। “डाक्टरहरू आफैं अनुभवहीन हुँदा हामीले सही अभ्यास कसरी सिक्ने?” एक विद्यार्थीको प्रश्न छ। यसले किसान मात्र होइन, भविष्यका प्राविधिक जनशक्तिमाथि समेत नकारात्मक असर परेको उनीहरूको भनाइ छ। स्थानीय किसानहरूका अनुसार जनशक्ति अभाव, कमजोर व्यवस्थापन र जिम्मेवारीबोधको कमीका कारण अस्पतालको सेवा प्रभावकारिता खस्किएको हो। दक्ष र अनुभवी डाक्टर तथा प्राविधिक नहुँदा कतिपय किसान बाहिरैबाट औषधि लेखाएर ल्याउन बाध्य भएका छन्, जसले उपचारलाई झनै जोखिमपूर्ण बनाएको छ। यसै सन्दर्भमा, वरिष्ठ पशु विकास अधिकृत तथा निमित्त कार्यालय प्रमुख चन्द्रकान्त पन्तले संरचनागत समस्या र व्यवस्थापन कमजोरीका कारण यस्तो अवस्था आएको स्वीकार गरेका छन्। उनले प्रदेश तहका विभिन्न कार्यालयमा दरबन्दी यकिन नगरी अनावश्यक रूपमा कर्मचारी भर्ना गरिएको, करार तथा दैनिक ज्यालादारीमा नियमविपरीत कर्मचारी राखिएको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको जानकारी दिए। पन्तका अनुसार मन्त्रिपरिषद्को मिति २०८२/०६/०५ को निर्णयको अवहेलना गर्दै करार तथा ज्यालादारी कर्मचारी राखिएको, नातागोता र दलिय प्रभावका आधारमा नियुक्ति गरिएको उजुरी आयोगको निर्णयअनुसार सम्बन्धित सबै प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयहरूमा लेखी पठाइएको हो। “हामी बाध्य भएर यो प्रक्रिया अघि बढाएका हौँ,” उनले बताए। किसानहरूले तत्काल दक्ष र अनुभवी पशु चिकित्सक तथा प्राविधिकको व्यवस्था, औषधि आपूर्ति सुदृढीकरण र सेवा व्यवस्थापन सुधार गर्न प्रदेश सरकार तथा सम्बन्धित निकायसँग माग गरेका छन्। “यदि अनुभवी डाक्टर र आवश्यक औषधिको व्यवस्था गरियो भने पशुपालक किसानलाई ठूलो राहत मिल्नेछ,” उनीहरूको सामूहिक माग छ। प्रदेशस्तरीय अस्पतालको यो अवस्थाले पशु स्वास्थ्य सेवाको समग्र प्रणालीमाथि प्रश्न उठाएको छ। अब सम्बन्धित निकायले समयमै ध्यान नदिए किसान, विद्यार्थी र पशु स्वास्थ्य सेवा तीनै क्षेत्रमा दीर्घकालीन असर पर्ने सरोकारवालाहरूको चेतावनी छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Dodharachandani Khabar Media dodharachandanikhabar@gmail.com +977 9806487050 +977 9860553567 Dodharachandani Khabar Media dodharachandanikhabar@gmail.com +977 9806487050 +977 9860553567
logo Dodharachandani Khabar Media Pvt. Ltd.

हाम्रो टिम

भूपेन्द्र ओली
संस्थापक तथा सञ्चालक
रक्षा जोशी
सम्पादक
तमान सिंह गुरुङ
समाचार संयोजक
हरिभक्त खत्री
स्ट्रिन्जर
कपिल कुमार ओली
फोटो पत्रकार (क्यामेरापर्सन)
दिपेशराज पाण्डे
संवाददाता
AD
Dodharachandani Khabar Media Pvt. Ltd. मोबाइल: +977 9806487050 / 9860553567 इमेल: dodharachandanikhabar@gmail.com
Copyright © 2026 Dodharachandani Khabar Media Pvt. Ltd. All Rights Reserved.  |  Design and Developed by: Imagine Infotech