श्रावण २० – दोधारा चाँदानी खबर
भीमदत्त नगरपालिका–११ मा जन्मिने शिशु र अन्त्य हुने जीवन दुबैलाई अब सामाजिक सुरक्षाको छायाँ मिल्ने भएको छ। लोकप्रिय वडा अध्यक्ष प्रकाश थापाले जनताको पीडा बुझ्ने नेतृत्वको सशक्त उदाहरण दिँदै नवजात शिशु स्याहारका लागि २५०० रुपैयाँ र दाहसंस्कार खर्चका लागि ५५०० रुपैयाँ उपलब्ध गराउने घोषणा गर्नुभएको छ।
“जन्म सँगै जिम्मेवारी र मृत्यु सँगै सहानुभूति,” थापाले भन्नुभयो, “राजनीति भाषण होइन, साथ दिने कर्म हो।”

विगत आर्थिक वर्ष २०८१/८२ मा सुरु गरिएको यो कार्यक्रमले चार दर्जनभन्दा बढी वडाबासीलाई राहत पुर्याएको थियो। यसवर्ष रकम वृद्धि गरी योजना थप प्रभावकारी बनाइएको हो।
शिशु जन्मेपछि पोषणको अभावले बालबालिका कुपोषित नहोस् भन्ने उद्देश्य र दाहसंस्कारमा गरिब परिवारलाई ऋण वा अपमानको बोझ नपरोस् भन्ने मानवीय भावनाबाट प्रेरित भएर यो योजना अघि बढाइएको हो।
विपन्न वर्गका लागि यस्तो कार्यक्रम “आफ्नै सरकारको महसुस गराउने खालको” भएको स्थानीयले बताएका छन्।
थापाको नेतृत्वमा वडामा सञ्चालन भएका अन्य कार्यक्रमहरू पनि उल्लेखनीय छन् –
विद्यार्थीका लागि निःशुल्क अंग्रेजी र कम्प्युटर कक्षा
एसईई तयारी तालिम
नियमित स्वास्थ्य शिविर
घरदैलो स्वास्थ्य सेवा
यी सबै पहलले वडा–११ लाई सुदूरपश्चिमको एक नमुना वडाको रूपमा उभ्याइरहेको स्थानीयवासीको भनाइ छ।
“थापा जस्ता नेतृत्व पाउने हो भने राज्यको माया जनताको मनसम्म पुग्न थाल्छ,” वडा–११ की एक वृद्ध आमाले भनिन्, “हाम्रो दु:ख अब वडाले सुन्न थालेको छ।”
![]()