दोधारा चाँदनी – दोधारा चाँदनी नगरपालिका–९ स्थित कालिका हाट बजार क्षेत्रमा सरसफाई अभियान सम्पन्न भएको छ। वडा नं. ९ कालिका हाट बजार व्यवस्थापन समितिको संयोजनमा सञ्चालन गरिएको अभियानमा विभिन्न सुरक्षा निकाय तथा स्थानीय तहका प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो।
सरसफाई अभियानमा वडा अध्यक्ष गोपिलाल कडेल, सशस्त्र प्रहरी बल बीओपी कुतियाकवर, जनपद प्रहरी टोलि बाबाथान चौकी, नगर प्रहरी टोलि र स्थानीय समितिका पदाधिकारी तथा स्थानीयवासीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमका बारेमा बजार व्यवस्थापन समिति अध्यक्ष जंग बहादुर रावतले भन्नुभयो, “सफा बजार, स्वस्थ जीवन” भन्ने नारालाई आत्मसात गर्दै हामीले यो अभियान सञ्चालन गरेका हौँ। आगामी दिनमा अझ व्यवस्थित र दिगो सरसफाई अभियान सञ्चालन गर्दै जानेछौँ।”
त्यस्तै, वडा अध्यक्ष गोपिलाल कडेलले भन्नुभयो, “नगरपालिका स्तरमै सफाइलाई प्राथमिकता दिइएको छ। यस्तो अभियानमा सबैको सहयोग जरूरी छ। हामी यो अभियानलाई निरन्तरता दिन प्रतिबद्ध छौँ।”
स्थानीय व्यवसायी र सर्वसाधारणले सरसफाई अभियानप्रति समर्थन जनाउँदै आगामी दिनमा पनि यस्ता क्रियाकलापमा सहभागिता जनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
![]()