दोधारा चाँदनी (कञ्चनपुर)। कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–४, मालिका टोल निवासी गोपीन दमाई भारतको उत्तराखण्डस्थित उधमसिंह नगरको रमखोला नजिकै सुरई रेञ्जको जंगलमा हिजो बिहान मृत अवस्थामा फेला परेका छन्।
घरबाट निस्किएका दमाईबारे परिवारले आज बिहान मात्रै जानकारी पाएको हो। इलाका प्रहरी कार्यालय दोधारा चाँदनीबाट आफन्तलाई फोन आएपछि उनी भारतको जंगलमा मृत अवस्थामा फेला परेको खबर परिवारले पाएको थियो। भारतीय प्रहरीले शव फेला परेको जानकारीसहित तस्बिर इलाका प्रहरी कार्यालयलाई पठाएको थियो।

भारतीय अधिकारीहरूले बाघको आक्रमणबाट दमाईको मृत्यु भएको बताएको आफन्तले जानकारी दिएका छन्। मृतकको शरीरमा विभिन्न स्थानमा चोटपटक तथा गहिरा घाउका निशानसमेत देखिएका छन्।
घटनाबारे जानकारी पाएपछि मृतकका परिवारका सदस्य र दोधारा चाँदनी नगरपालिका–४ का वडा सदस्य गगनबहादुर सिंह भारतको उधमसिंह नगर पुगेका थिए। उनीहरूले शवको पहिचान गरेपछि आवश्यक प्रक्रिया तथा शव परीक्षण पूरा गरी आज शव घर ल्याएका हुन्।
शव घर ल्याइएको जानकारी मृतकका भाइ राजकुमार दमाईले दिएका छन्। घटनाले मालिका टोलसहित स्थानीय क्षेत्रमा शोक छाएको छ।



