दोधारा चाँदनी। कञ्चनपुरको दोधारा चाँदनीमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) भानु बहुमुखी क्याम्पसका विद्यार्थीहरूले देउसी–भैलो खेलेर संकलन गरेको रकमबाट ट्युमरका बिरामीलाई आर्थिक सहयोग गरेका छन्।
तिहारको अवसरमा देउसी भैलो खेलेर संकलन गरिएको रकममध्ये १५ हजार रुपैयाँ दोधारा चाँदनी नगरपालिका–१० निवासी ट्युमरका बिरामी विवेक खड्कालाई सहयोगस्वरूप हस्तान्तरण गरिएको हो।

खड्का हाल भक्तपुर क्यान्सर अस्पतालमा उपचाररत छन्। उपचारका क्रममा रहेका बिरामीलाई आर्थिक सहयोगमार्फत केही राहत पुगोस् भन्ने उद्देश्यले विद्यार्थीहरूले संकलित रकमबाट सहयोग गरेका हुन्।
स्ववियु सभापति सुबास नेगी (सुधिर) का अनुसार तिहारमा देउसी भैलो खेलेर संकलन गरिएको रकममध्ये केही हिस्सा सामाजिक तथा मानवीय सेवामा खर्च गर्ने उद्देश्यले बिरामी खड्कालाई सहयोग गरिएको हो।
संस्कृति संरक्षण र मनोरञ्जनसँगै देउसी भैलोबाट संकलित रकम मानवीय सेवामा खर्च गर्दै विद्यार्थीहरूले सामाजिक उत्तरदायित्वसमेत निर्वाह गरेका छन्। विद्यार्थीहरूको यस पहलले चाडपर्वलाई खुसी साटासाट गर्ने अवसरका रूपमा मात्र नभई दुःखमा परेकालाई सहयोग गर्ने माध्यमका रूपमा समेत स्थापित गरेको छ।



