दोधारा चाँदनी। कञ्चनपुरको दोधारा चाँदनीस्थित महाकाली नदीमा बेपत्ता भएका सशस्त्र प्रहरीका सहायक प्रहरी निरीक्षक (असई) सागरराज थारुको खोजी कार्य आज तेस्रो दिन पनि जारी छ। सञ्चार सेवा सञ्चालनका लागि झोलुङ्गे पुलमा तार तान्ने क्रममा उहाँ बेपत्ता हुनुभएको थियो।
घटनापछि महाकाली नदीमा खोजी कार्य जारी रहँदा तार तान्ने कार्यको प्राविधिक आवश्यकता, जोखिम मूल्याङ्कन र सुरक्षासम्बन्धी तयारीबारे पनि चासो बढेको छ।

झोलुङ्गे पुलमा क्षति पुगेर तारहरू टुटेपछि दोधारा चाँदनीमा विभिन्न सञ्चार सेवा अवरुद्ध भएका थिए। त्यसपछि सेवा प्रदायक कम्पनीहरूले महाकाली नदीमाथिको चार लेनको पुलबाट तार तानेर सेवा सञ्चालन गरेका थिए। नेपाल टेलिकमले पनि चार लेनको पुलबाटै लाइन विस्तार गरी सेवा सुचारु गरेको थियो।
चार लेनको पुलबाट सेवा सञ्चालन भइरहेको अवस्थामा झोलुङ्गे पुलमा पुनः तार तान्नुको प्राविधिक आवश्यकता के थियो भन्ने प्रश्न उठेको छ। उक्त काम किन आवश्यक भयो, जोखिमको पूर्वमूल्याङ्कन गरिएको थियो कि थिएन र काममा संलग्न जनशक्तिको सुरक्षाका लागि के-कस्ता उपाय अपनाइएका थिए भन्ने विषयमा सम्बन्धित निकायबाट स्पष्ट जानकारी आउन आवश्यक देखिएको छ।
त्यसैगरी, नेपाल टेलिकमको प्राविधिक काममा सशस्त्र प्रहरीको सहभागिताको उद्देश्य र कामका क्रममा गरिएको समन्वयबारे पनि आधिकारिक धारणा सार्वजनिक हुनुपर्ने देखिन्छ।
असई थारुको अवस्था अझै अज्ञात रहँदा उहाँको खोजी कार्यलाई प्राथमिकता दिनुका साथै घटनाको वास्तविक परिस्थिति पत्ता लगाउन निष्पक्ष छानबिन आवश्यक छ। घटनाको कारण र जिम्मेवारीबारे निष्कर्षमा पुग्नुअघि सम्बन्धित निकायको धारणा र प्राविधिक तथ्य सार्वजनिक हुनु महत्त्वपूर्ण छ।



