दोधारा – दोधारा चाँदनी नगरपालिका–१० मा वृद्धभत्ता लिन आउने अशक्त तथा असहाय ज्येष्ठ नागरिकलाई लक्षित गरी निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराइएको छ।
वृद्धभत्ता लिन वडा कार्यालयसम्म आउनुपर्ने भए पनि उमेर तथा शारीरिक अशक्तताका कारण हिँडडुल गर्न कठिनाइ हुने नागरिकलाई सहज होस् भन्ने उद्देश्यले वडा अध्यक्षको रोहबरमा एम्बुलेन्स सेवा सञ्चालन गरिएको हो।

यस सेवामार्फत अशक्त तथा असहाय ज्येष्ठ नागरिकलाई घरबाट वडा कार्यालयसम्म आउन र भत्ता लिएपछि सुरक्षित रूपमा घर फर्कनसमेत सहज हुने अपेक्षा गरिएको छ। वृद्धभत्ता लिनकै लागि यातायातको समस्या झेल्नुपर्ने अवस्थालाई मध्यनजर गर्दै वडा कार्यालयले यस्तो व्यवस्था गरेको जनाएको छ।
वडा नं. १० का वडाध्यक्ष चन्द्रबहादुर सिंहले ज्येष्ठ नागरिक तथा अशक्त व्यक्तिलाई सामाजिक सुरक्षा भत्ता लिन आउँदा कुनै समस्या नहोस् भन्ने उद्देश्यले निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराइएको जानकारी दिनुभयो।
उहाँका अनुसार विशेषगरी हिँडडुल गर्न नसक्ने, सहारा आवश्यक पर्ने तथा आर्थिक रूपमा कमजोर ज्येष्ठ नागरिकलाई यस सेवाले प्रत्यक्ष राहत पुग्नेछ। स्थानीय सरकार नागरिकको सहजता र आवश्यकतालाई प्राथमिकतामा राखेर सेवा प्रवाह गर्न प्रतिबद्ध रहेको वडाध्यक्ष सिंहले बताउनुभयो।



