कञ्चनपुर, घुसुडी महोत्सवका संयोजक तथा सामाजिक अभियन्ता करन सिंह पाल भारतमा आयोजना हुन लागेको बृहत् सांस्कृतिक महोत्सवमा प्रमुख अतिथिका रूपमा सहभागी हुने भएका छन्।
हिमालय युवा समिति र देशप्रेमी सांस्कृतिक रङ्गमञ्चको संयुक्त आयोजनामा महिलाहरूको महान् पर्व हरितालिका तीज तथा गौरा पर्वको अवसर पारेर भारतका विभिन्न शहरमा बृहत् सांस्कृतिक महोत्सव आयोजना गर्न लागिएको हो।

आयोजकका अनुसार महोत्सव आगामी सेप्टेम्बर १३ मा चेन्नई र सेप्टेम्बर १४ मा बैङ्गलोर मा आयोजना हुनेछ। कार्यक्रममा चर्चित तीज गायक खुमन अधिकारी को विशेष सांगीतिक प्रस्तुति रहनेछ भने करन सिंह पाल प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन्।
प्रवासी नेपाली समुदायमाझ नेपाली कला, संस्कृति, भाषा, परम्परा तथा मौलिक पहिचानको संरक्षण, प्रवर्द्धन र पुस्तान्तरण गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको आयोजकले जनाएको छ।
घुसुडी महोत्सवको सफल आयोजनामार्फत सांस्कृतिक तथा सामाजिक क्षेत्रमा सक्रिय भूमिका निर्वाह गर्दै आएका करन सिंह पालको भारतमा हुने यस कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागितालाई नेपाली संस्कृति र प्रवासी नेपाली समुदायबीचको सम्बन्ध अझ सुदृढ बनाउने अवसरका रूपमा समेत हेरिएको छ।



