भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको राहत तथा पुनर्स्थापनाका लागि कञ्चनपुरको दोधारा चाँदनीस्थित चाँदनी कृषि सहकारी संस्था लिमिटेडले आर्थिक सहयोग गरेको छ।
दोधारा चाँदनी नगरपालिका–२ मा सञ्चालित सहकारीले आफ्ना १ हजार ५७६ जना शेयर सदस्यहरूको तर्फबाट ५१ हजार ५५१ रुपैयाँ सहयोग गर्ने निर्णय गरेको थियो। सोही निर्णयअनुसार संस्थाले कृषि विकास बैंक, दोधारा शाखामा रहेको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको खातामा चेकमार्फत रकम जम्मा गरेको जनाएको छ।

संस्थाका अध्यक्ष चन्दन सिंह थापा मगर र व्यवस्थापक रेश्मी कुमारी चन्दद्वारा जारी अपिलमा बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा लगायतका जिल्लामा भएको ठूलो जनधनको क्षतिप्रति दुःख व्यक्त गरिएको छ।
विपद्मा ज्यान गुमाउनेहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै सहकारीले शोकसन्तप्त परिवारप्रति समवेदना तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ। साथै, बेपत्ताहरूको खोज तथा उद्धार कार्यमा जुट्न सबैमा अपिल गरिएको छ।
विपद्को यस कठिन घडीमा सबैले एकजुट भएर सहयोग गर्नुपर्नेमा जोड दिँदै सहकारीले आगामी दिनमा पनि समुदायको सुख–दुःखमा सहयोग गर्दै जाने प्रतिबद्धता जनाएको अध्यक्ष थापा मगरले बताए।




