दोधारा चाँदनी, साउन २१ — इलाका प्रहरी कार्यालय दोधारा चाँदनीले चोरीका घटनामा बरामद गरिएका सुनका गहना बिहीबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्दै सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ।
प्रहरीका अनुसार असार ३२ गते बरामद गरिएका गहना २२ दिनपछि पत्रकार सम्मेलन आयोजना गरी सार्वजनिक गरिएको हो। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतले पत्रकार सम्मेलनमा बरामद गरिएका ३४ वटा विभिन्न प्रकारका सुनका गहनाको अनुमानित मूल्य ६२ लाख १६ हजार रुपैयाँ रहेको जानकारी दिए।

पत्रकार सम्मेलनमा सार्वजनिक गरिएका गहना सम्बन्धित धनी साहिल धवनलाई बुझाइएको थियो। गहना बुझ्दै धवनले नेपाल प्रहरीले चोरी भएका गहनामध्ये केही बरामद गर्न सफल भएकोमा धन्यवाद व्यक्त गरे। साथै उनले आफूबाट चोरी भएका सम्पूर्ण गहनामध्ये सार्वजनिक गरिएका गहना आधा मात्र रहेको दाबी गरे।
धवनका अनुसार घटनामा संलग्न रहेको आरोप लागेका लोकेश धामी गहना लिएर फरार भएका थिए। उनका अनुसार प्रहरीले लोकेश धामीबाट बरामद भएका गहना मात्रै फेला पारेको छ बाँकी गहना अझै बरामद हुन सकेको छैन। उनले बाँकी गहना पनि यथाशीघ्र खोजी गरी सम्बन्धित धनीलाई उपलब्ध गराइदिन आग्रह गरे।
पत्रकार सम्मेलनमा जनप्रतिनिधि, सञ्चारकर्मी तथा स्थानीयवासीहरूको उल्लेख्य उपस्थिति रहेको थियो। कार्यक्रमका क्रममा पत्रकारहरूले बरामद प्रक्रिया तथा प्रहरीले तयार गरेको मुचुल्कासम्बन्धी विभिन्न प्रश्न उठाएका थिए। त्यसको जवाफमा प्रहरी अधिकारीहरूले सम्पूर्ण प्रक्रिया कानुनी व्यवस्था र रितपूर्वक सम्पन्न गरिएको बताएका थिए।
यसअघि यसै घटनालाई लिएर चोरी भएका गहनाको मूल्य, अनुसन्धान प्रक्रिया तथा बरामदमा ढिलाइबारे विभिन्न जिज्ञासा र चर्चा हुँदै आएको थियो। यद्यपि प्रहरीले बरामद भएका गहना सार्वजनिक गर्दै सम्बन्धित धनीलाई बुझाएको जनाएको छ भने बाँकी गहना तथा फरार रहेका आरोपितसँग सम्बन्धित अनुसन्धान जारी रहेको जनाएको छ।
यस घटनामा संलग्न भएको आरोप लागेका व्यक्तिहरूमाथिको अनुसन्धान र कानुनी प्रक्रिया जारी रहेकाले अन्तिम निष्कर्ष अदालतको निर्णयबाट मात्र तय हुनेछ।



