कैलाली- कैलालीको धनगढी उपमहानगरपालिका–७ का ३५ वर्षीय ज्योति चौधरीको आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएपछि उपचारका क्रममा मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार साउन ९ गते साँझ करिब ७:३० बजे चौधरीले आफ्नै घरभित्र शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए। घटनापछि आफन्तहरूले तत्काल उद्धार गरी उनलाई सेती प्रादेशिक अस्पताल, धनगढी पुर्याएका थिए। अस्पतालका अनुसार उनको शरीरको करिब ६० प्रतिशत भाग जलेको थियो र अवस्था गम्भीर रहेको थियो।

प्राथमिक उपचारपछि सोही राति ९:१५ बजे थप उपचारका लागि भेरी अस्पताल, नेपालगञ्ज रिफर गरिएको भए पनि उनको अवस्था अत्यन्त गम्भीर भएकाले काठमाडौंतर्फ लैजाँदै गर्दा धादिङ पुगेपछि मृत्यु भएको प्रहरीले जनाएको छ।
मृतकको शव हाल घरमा ल्याइएको छ। पोस्टमार्टमका लागि सेती प्रादेशिक अस्पताल, धनगढी पठाउने प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ। आत्मदाह प्रयास गर्नुको कारण भने हालसम्म खुल्न नसकेको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।



