दोधारा चाँदनी, असार २२
नेपाल चिकित्सक संघको आह्वानमा आइतबार देशभर आकस्मिक बाहेकका सम्पूर्ण सेवा बन्द हुँदा कञ्चनपुरको दोधारा चाँदनी नगर अस्पतालमा समेत नियमित सेवा ठप्प भएको छ। बिरामीहरू उपचार नपाएर मर्कामा परेका छन्।
नगर अस्पतालमा बिहानैदेखि ओपीडी, सामान्य चेकजाँच, ल्याब, फार्मेसी लगायतका सेवा बन्द गरिएका छन्। आकस्मिक सेवा मात्र संचालनमा रहेकाले अन्य स्वास्थ्य समस्या बोकेर आएका बिरामीहरू उपचार विना फर्किनुपरेको छ।
स्वास्थ्य समस्या लिएर अस्पताल आएकी दोधारा चाँदनी–५ की ईश्वरी गुरुङ भन्छिन्, “मेरो पेटमा समस्या देखिएको थियो। आज स्वास्थ्यकर्मीहरू आन्दोलन रहेछ, मलाई धेरै गारो हुँदैछ। अब खातिमा तिर जान्छु, जसरि भए पनि उपचार त गर्नु पर्यो।”
त्यस्तै, एक अर्की सेवा ग्राही आफ्नो बच्चालाई लिएर अस्पताल आएकी थिइन्। उनी भन्छिन्, “बच्चाको नाकबाट सिगान बगिरहेछ, बाबुलाई सास फेर्न गारो भएको छ। डाक्टरहरूले आकस्मिक सेवा बाहेक सबै सेवा बन्द छन् भन्नु हुन्छ। अब बाहिरैबाट भए पनि उपचार गराउँछु।”
नेपाल चिकित्सक संघले स्वास्थ्यकर्मीमाथिका आक्रमणबारे सरकार गम्भीर नबनेको भन्दै चरणबद्ध आन्दोलनको कार्यक्रम ल्याएको हो। असार २३ गते काठमाडौंमा विरोध प्रदर्शन गर्ने संघको तयारी छ।
![]()