कञ्चनपुर, जेठ २२ — कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकास्थित भानु बहुमुखी क्याम्पसले विश्व वातावरण दिवस–२०८२ को अवसरमा सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ। “प्लास्टिक प्रदूषण न्यूनीकरण : हाम्रो दायित्व” भन्ने नारासहित सम्पन्न सो कार्यक्रम स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को पहल तथा नेतृत्वमा सञ्चालन गरिएको हो।
स्ववियु सभापति सुवास नेगीको नेतृत्वमा सम्पन्न सरसफाइ अभियानमा क्याम्पस परिसरसहित नगरका प्रमुख सार्वजनिक स्थानहरू सफा गरिएका थिए। अभियान अन्तर्गत भानु बहुमुखी क्याम्पस परिसर, इलाका प्रहरी कार्यालय, दोधारा चाँदनी हेल्थपोस्ट, नगर अस्पताल र वडा नं. ६ स्थित हाटबजार क्षेत्रमा सरसफाइ गरिएको हो।
क्याम्पस प्रमुख प्रकाश बहादुर चन्दले प्लास्टिकजन्य फोहोरका कारण बढ्दो वातावरणीय प्रदूषण नियन्त्रण गर्न यस्ता कार्यक्रम आवश्यक रहेको बताए। उनले भने, “प्लास्टिक प्रदूषण न्यूनीकरण हाम्रो साझा दायित्व हो। यस्ता अभियानले विद्यार्थीहरूमा सचेतना मात्रै होइन, व्यवहारमै सकारात्मक परिवर्तन ल्याउने विश्वास लिएका छौं।”
तस्वीरमा विद्यार्थीहरू घाँस झार्ने, फोहोर सङ्कलन गर्ने, बटमाला हटाउने जस्ता कार्यमा सक्रिय देखिन्छन्। सरसफाइ कार्यक्रममा विद्यार्थी, शिक्षक, स्ववियु पदाधिकारी तथा स्थानीयवासीको उल्लेखनीय सहभागिता रहेको थियो।
आयोजकका अनुसार कार्यक्रमको उद्देश्य वातावरण संरक्षण, सरसफाइको महत्त्वबारे जनचेतना फैलाउनु र समाजमा सकारात्मक सन्देश प्रवाह गर्नु रहेको थियो।
![]()