कञ्चनपुर, जेठ २२ — दोधारा चाँदनी नगरपालिका–१ का स्थानीय बासिन्दाले मागअनुसारको विकास योजना पारित नगरिएको भन्दै बुधबार बिहान वडा कार्यालयमा तालाबन्दी गरेका छन्।
विगत तीन वर्षदेखि ग्राभेल, कालोपत्रे र अन्य पूर्वाधार योजनाको माग गर्दै आएका वडावासीहरू वडा कार्यालयले निरन्तर बेवास्ता गर्दै आएको आरोप लगाउँदै आक्रोशित भएका हुन्। स्थानीयहरूका अनुसार पटक–पटक ध्यानाकर्षण गराउँदा पनि वडाध्यक्ष र नगरपालिकाले कुनै ठोस कदम नचालेपछि अन्ततः विरोधको कार्यक्रम सुरु गरिएको हो।
“हामीलाई चुनावताका मात्र आश्वासन दिइन्छ, तर त्यसपछि हाम्रो माग सुन्ने कोही हुँदैन,” एक स्थानीय बासिन्दाले भने, “अब हामी आफैं आवाज उठाउन बाध्य भएका छौँ।”
यसबीच वडा कार्यालयमा तालाबन्दी भएपछि सेवा प्रवाह अवरुद्ध भएको छ। स्थिति साम्य पार्न नगरपालिकाको ध्यानाकर्षण गराइएको जनाइएको छ।
![]()