कञ्चनपुर, दोधारा चाँदनी —
महिलामाथि हुने हिंसा न्यूनीकरण तथा पीडितहरूको संरक्षणका लागि काम गर्दै आएको दिदीबहिनी संस्था नगरस्तरीय सेवा केन्द्र, दोधारा चाँदनीलाई दोधारा चाँदनी नगरपालिकाले राहत सामग्री प्रदान गरेको छ।
२०८२ साल जेठ ५ गते नगर उपप्रमुखको कार्यकक्षमा आयोजित एक कार्यक्रममा नगर उपप्रमुख गंगा देवी जोशीले सेवा केन्द्रलाई ५ थान गद्दा, ५ थान कम्बल, ५ थान तकिया र ५ थान तन्ना हस्तान्तरण गरेकी हुन्। उक्त सामग्री हिंसा पीडित महिलाहरूको अस्थायी बसोबास तथा सुरक्षाको व्यवस्थापनमा प्रयोग हुने जनाइएको छ।
कार्यक्रमका अवसरमा सेवा केन्द्रकी प्रमुख सिता देवी भण्डारीले संस्था विगत ३ वर्षदेखि दोधारा चाँदनीमा हिँसा पीडित महिलाहरूको हेरचाह गर्दै आएको जानकारी दिइन्।
“घरेलु हिंसा, सामाजिक बहिष्कार, जबरजस्ती विवाह लगायत विभिन्न कारणले पीडित भएका महिलाहरूको उद्धार र पुनःस्थापना गर्न हामी निरन्तर क्रियाशील छौं,” प्रमुख भण्डारीले भनिन्।
नगर उपप्रमुख जोशीले स्थानीय तहले यस्ता सामाजिक संस्थासँग सहकार्य गर्दै पीडितको संरक्षण तथा सशक्तिकरणमा निरन्तर साथ दिने प्रतिबद्धता जनाइन्।
![]()