Clickable Banner Ad

दोधारा चाँदनीमा जंगली जनावरको चहलपहल बढ्दै, सुन्दरनगरमा बाघको आक्रमणबाट बाख्राको मृत्यु

कञ्चनपुर — दोधारा चाँदनी नगरपालिकामा पछिल्ला केही महिनादेखि जंगली जनावरहरूको चहलपहल बढ्दो छ। लगातार बाघ र चितुवाको आक्रमणबाट मानव तथा पशुक्षति भएपछि स्थानीयवासी त्रासमा बसेका छन्।

Advertisement

मिति २०८२ साल वैशाख १४ गते राति दोधारा चाँदनी नगरपालिका–८, सुन्दरनगरमा बाघको आक्रमणबाट स्थानीय नारायण प्रशाद अधिकारीको पाल्तु बाख्राको मृत्यु भएको छ। राति करिब १२ बजेतिर बाख्राको खोरमा पसेको बाघले घाँटीमा गम्भीर चोट पुर्‍याएको र घटनास्थलमै बाख्राको मृत्यु भएको हो। प्राप्त तस्वीरहरूले बाघको आक्रमणको पुष्टि गर्छ।

त्यसअघि, २०८१ चैत ७ गते (२०२५ मार्च २० मा) चितुवाको आक्रमणबाट दोधारा चाँदनीका एक स्थानीय युवा राजु सुनार घाइते भएका थिए। उनी खेतमा काम गर्ने क्रममा चितुवाले आक्रमण गर्दा गम्भीर घाइते भएका थिए र हाल उपचार पश्चात स्वास्थ्य लाभ लिइरहेका छन्।

यसैगरी, २०८१ साउन १७ गते दोधारा चाँदनी नगरपालिका–२ मा २३ वर्षीया हिरादेवी शाहलाई बाघले आक्रमण गरी ज्यान लिएको थियो। उनी घाँस काट्न गएको बेला उखुको बारीबाट आएको बाघले आक्रमण गरेको थियो। उक्त घटनापछि बाघ नियन्त्रणका लागि राष्ट्रिय निकुञ्ज र बर्दिया निकुञ्जबाट प्राविधिक टोलीसमेत परिचालित गरिएको थियो।

त्यसैबीच, २०८१ चैत २१ गते दोधारा चाँदनी–१३, बडुवाल टोलमा जंगली हात्ती मृत अवस्थामा फेला परेको थियो। स्थानीयले विद्युत झट्काबाट हात्तीको मृत्यु भएको आशंका गरेका छन्। यसअघि पनि हात्तीको आक्रमणबाट जिल्लामा मानव र बालीमा ठुलो क्षति पुगेको थियो।

लगातार बढ्दै गएको यस्ता घटनाले स्थानीयवासी त्रसित बनेका छन्। उनीहरूले वन विभाग र स्थानीय निकायसँग वन्यजन्तु नियन्त्रण तथा जनसुरक्षा व्यवस्थाका लागि तत्काल पहल गर्न माग गरेका छन्।

Loading

Leave a Comment

Advertisement
Advertisement