कंचनपुर- कञ्चनपुरको दोधारा चाँदनीबाट लामो समयदेखि राजनीतिक तथा सामाजिक क्षेत्रमा सक्रिय रहेका बेलबहादुर राना सुदूरपश्चिम प्रदेश सरकारमा मन्त्री नियुक्त भएका छन्।
प्रदेश सरकार विस्तारअन्तर्गत नेपाली कांग्रेसको तर्फबाट रानालाई मन्त्रीको जिम्मेवारी दिइएको हो। सरकार विस्तारसँगै उनी प्रदेश सरकारमा दोधारा चाँदनी क्षेत्रको प्रतिनिधित्व गर्ने नेताका रूपमा स्थापित भएका छन्।

राना स्थानीय राजनीति, शिक्षा तथा सामाजिक क्षेत्रमा लामो समयदेखि सक्रिय भूमिका निर्वाह गर्दै आएका छन्। उनी भानु बहुमुखी क्याम्पसको व्यवस्थापन समितिको अध्यक्षका रूपमा समेत कार्य गरिसकेका छन्।
प्रदेश सरकारमा उनको नियुक्तिसँगै दोधारा चाँदनी लगायत सीमावर्ती क्षेत्रका विकास, पूर्वाधार, शिक्षा, स्वास्थ्य तथा जनजीविकासँग सम्बन्धित विषयले प्रदेश सरकारमा थप प्राथमिकता पाउने अपेक्षा स्थानीयवासीले गरेका छन्।



