दोधारा चाँदनी– कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा १७ औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आयोजना हुने भएको छ। प्रतियोगिताको औपचारिक तयारीस्वरूप आज नगरपालिकामा आयोजित एक कार्यक्रमबीच जिल्ला खेलकुद विकास समिति तथा नगर खेलकुद समितिले राष्ट्रपति रनिङ शिल्डको झण्डा नगरपालिकालाई हस्तान्तरण गरेका हुन्।
कार्यक्रममा दोधारा चाँदनी नगर खेलकुद समितिका अध्यक्ष तेजराज गिरी, नगर प्रमुख किशोर लिम्बु, नगर उपप्रमुख गंगादेवी जोशी, प्रमुख प्रशासकीय अधिकृत, विभिन्न वडाका वडाध्यक्ष, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष ज्ञानेन्द्र बहादुर सिंह, नगर खेलकुद समितिका पदाधिकारी लगायतको उपस्थिति रहेको थियो।
झण्डा हस्तान्तरण कार्यक्रममा बोल्दै वक्ताहरूले राष्ट्रपति रनिङ शिल्ड विद्यालय तहबाट खेल प्रतिभा पहिचान गर्ने महत्वपूर्ण प्रतियोगिता भएको बताएका थिए। उनीहरूले खेलकुदले विद्यार्थीमा अनुशासन, नेतृत्व क्षमता र प्रतिस्पर्धात्मक भावना विकास गर्ने उल्लेख गर्दै प्रतियोगिता सफल बनाउन सबै पक्षको सहकार्य आवश्यक रहेको बताए।
राष्ट्रपति रनिङ शिल्ड नेपालमा विद्यालयस्तरीय खेलकुदको सबैभन्दा प्रतिष्ठित प्रतियोगितामध्ये एक मानिन्छ। विद्यालय तहबाटै प्रतिभाशाली खेलाडी उत्पादन गर्ने उद्देश्यले सुरु गरिएको यो प्रतियोगिता पहिले “वीरेन्द्र रनिङ शिल्ड” नामबाट सञ्चालन हुने गरेको थियो। गणतन्त्र स्थापना पश्चात् यसको नाम “राष्ट्रपति रनिङ शिल्ड” राखिएको हो।
नेपाल सरकारको युवा तथा खेलकुद मन्त्रालय तथा राष्ट्रिय खेलकुद परिषद्को समन्वयमा सञ्चालन हुने यस प्रतियोगितामा एथलेटिक्स, भलिबल, कबड्डी, कराते, तेक्वान्दो, उसु लगायतका विभिन्न खेल समावेश गरिन्छ। स्थानीय तहबाट छनोट भएका उत्कृष्ट खेलाडीहरूले जिल्ला, प्रदेश हुँदै राष्ट्रिय स्तरसम्म प्रतिस्पर्धा गर्ने अवसर पाउने व्यवस्था रहेको छ।
दोधारा चाँदनीमा हुन लागेको १७ औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा जिल्लाभरका विद्यालयका विद्यार्थी खेलाडीहरूको सहभागिता रहने अपेक्षा गरिएको छ। प्रतियोगिताले स्थानीय खेलकुद क्षेत्रलाई थप सक्रिय बनाउने विश्वास लिइएको छ।
![]()