Clickable Banner Ad

भीमदत्तनगरपालिकाद्वारा पत्रकार महासंघ कञ्चनपुरलाई प्रेस सामग्री सहयोग

कञ्चनपुर । भीमदत्त नगरपालिका ले नेपाल पत्रकार महासंघ शाखा कञ्चनपुरलाई प्रेस ज्याकेट र प्रेस क्याप हस्तान्तरण गरेको छ ।

Advertisement

मंगलबार नगरपालिका कार्यालयमा आयोजित कार्यक्रममा नगर प्रमुख पदम बोकटी, उपप्रमुख निलम लेखक जोशी तथा प्रमुख प्रशासकीय अधिकृत महेशबहादुर बम ले संयुक्त रुपमा नेपाल पत्रकार महासंघ शाखा कञ्चनपुरका अध्यक्ष सुरेश धामी र सचिव कुन्दन पाण्डेय लाई प्रेस ज्याकेट तथा क्याप हस्तान्तरण गरेका हुन् ।

नगरपालिकाको आर्थिक सहयोगमा महासंघलाई १०० थान प्रेस ज्याकेट र १०० थान प्रेस क्याप उपलब्ध गराइएको महासंघ अध्यक्ष धामीले जानकारी दिए । पत्रकारहरुको पहिचान, पेशागत सुरक्षा तथा समाचार संकलनका क्रममा सहजताका लागि उक्त सामग्री सहयोग गरिएको जनाइएको छ ।

नगर प्रमुख पदम बोकटीले पत्रकारहरु समाजका महत्वपूर्ण सूचनावाहक र लोकतन्त्रका आधारस्तम्भ भएको उल्लेख गर्दै उनीहरुको सुरक्षालाई स्थानीय सरकारले प्राथमिकतामा राखेको बताए ।

“पत्रकारहरु कुनै पनि घटना, दुर्घटना, विपद्, आन्दोलन तथा जोखिमपूर्ण परिस्थितिमा अग्रपंक्तिमा रहेर काम गर्नुहुन्छ,” उनले भने, “त्यसैले पत्रकारको स्पष्ट पहिचान र पेशागत सुरक्षाका लागि प्रेस ज्याकेट तथा क्याप आवश्यक महसुस गरेर सहयोग गरेका हौं ।”

उपप्रमुख निलम लेखक जोशीले निष्पक्ष, जिम्मेवार र जनपक्षीय पत्रकारिताले समाजलाई सही दिशा दिने बताउँदै स्थानीय सरकार र सञ्चारमाध्यमबीचको सहकार्य अझ सुदृढ हुनुपर्ने धारणा राखिन् ।

उनले पत्रकारहरुको क्षमता अभिवृद्धि र सशक्तिकरणमा समेत नगरपालिकाले आगामी दिनमा सहकार्य गर्ने बताइन् ।

महासंघ अध्यक्ष सुरेश धामीले पत्रकारहरुको पेशागत सुरक्षालाई मध्यनजर गर्दै सहयोग गरेकोमा भीमदत्तनगरपालिका प्रति आभार व्यक्त गरे । उनले आगामी दिनमा पनि पत्रकारहरुको क्षमता विकास, तालिम, प्रविधि व्यवस्थापन तथा मिडिया प्रवर्द्धनका क्षेत्रमा यस्तै सहकार्यको अपेक्षा रहेको बताए ।

“सशक्त र जिम्मेवार पत्रकारिता लोकतन्त्रको महत्वपूर्ण आधार हो,” उनले भने, “त्यसैले सञ्चार क्षेत्रलाई मजबुत बनाउन सबै पक्षको सहयोग आवश्यक छ ।”

उनले अन्य स्थानीय तहहरुलाई समेत पत्रकारहरुको पेशागत सुरक्षा, क्षमता अभिवृद्धि र सञ्चार क्षेत्रको विकासमा ध्यान दिन आग्रह गरे ।

Loading

Advertisement
Advertisement