दोधाराचाँदनी । दोधाराचाँदनी निजी (संस्थागत) विद्यालय क्षेत्रीय समितिले गत १८ गते भएको टिपर दुर्घटनामा छोरा गुमाएका पीडित परिवारलाई आर्थिक सहयोग प्रदान गरेको छ।
समितिका अध्यक्ष तथा दोधाराचाँदनी नगर प्रमुख किशोर लिम्बुको उपस्थितिमा दुर्घटनामा ज्यान गुमाएका बालकका बुबाआमालाई आज नगद रु. ३० हजार सहयोग हस्तान्तरण गरिएको हो। समितिमा हाल १८ वटा संस्थागत विद्यालय आबद्ध रहेका छन्, जबकि नगर क्षेत्रमा कुल २३ वटा संस्थागत विद्यालय सञ्चालनमा रहेका छन्।
समितिका अनुसार यसअघि पनि दुई जना मिर्गौला पीडितलाई जनही रु. १५ हजार आर्थिक सहयोग उपलब्ध गराइएको थियो। साथै नगर प्रमुख फुटबल कप प्रतियोगितामा प्रथम र द्वितीय हुने टिमलाई खेल ड्रेस तथा अफिसियलका लागि पाँच सेट ड्रेस सहयोग गरिएको जानकारी दिइएको छ।
पीडित परिवारको घर भारत सीमावर्ती जंगलसँग जोडिएको क्षेत्रमा रहेको झुपडीमा पुगेपछि स्थानीयले परिवारका लागि सुरक्षित घर निर्माण गरिदिन माग गरेका थिए। नगर प्रमुख लिम्बुले भविष्यमा उक्त विषयलाई सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
सहयोग अभियानमा साथ दिने सम्पूर्ण विद्यालय, शिक्षक तथा सहयोगदाताप्रति समितिले धन्यवाद व्यक्त गरेका छन्।
![]()