कञ्चनपुर — कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ अन्तर्गत भारतसँग जोडिएको सीमावर्ती क्षेत्रमा आज संयुक्त अनुगमन तथा स्थलगत निरीक्षण गरिएको छ। क्षेत्रीय सांसद ज्ञानेन्द्र महतासहित नेपाल–भारत सीमा सर्वेक्षण टोलीका प्रमुख ज्ञानेन्द्र बिष्ट, प्रमुख जिल्ला अधिकारी मदन कोइराला तथा सशस्त्र प्रहरी उपरीक्षक प्रेम सिग्देलको टोलीले विवाद देखिएका विभिन्न स्थानमा पुगेर अवस्थाको प्रत्यक्ष अवलोकन गरेको हो।
निरीक्षणका क्रममा सीमाक्षेत्रमा देखिएका समस्या, हराएका तथा क्षतिग्रस्त सीमा स्तम्भ (पिल्लर)हरूको अवस्था, स्थानीयले भोगिरहेका समस्या तथा सीमांकनमा देखिएका अस्पष्टताबारे विस्तृत जानकारी संकलन गरिएको टोलीले जनाएको छ। पछिल्लो समय सीमाक्षेत्रमा पिल्लर हराउने, सारिने वा क्षति हुने घटनाले विवाद बढ्दै गएको सन्दर्भमा यस्ता अनुगमनलाई महत्वपूर्ण रूपमा हेरिएको छ।
टोलीले आगामी वैशाखको दोस्रो सातादेखि नेपाल–भारत सीमा सर्वेक्षण कार्यलाई थप तीव्रता दिने तयारी गरेको छ। यसअन्तर्गत हराएका पिल्लर पुनःनिर्माण गर्ने, क्षतिग्रस्त पिल्लर मर्मत गर्ने तथा स्पष्ट रूपमा सीमा एकिन गर्ने काम अघि बढाइने जनाइएको छ।
सांसद ज्ञानेन्द्र महताले सीमासम्बन्धी समस्या दीर्घकालीन रूपमा समाधान गर्न सरकारका सम्बन्धित निकायहरू सक्रिय रूपमा लागिरहेको बताए। उनले स्थानीयवासीको गुनासो र सुझावलाई ध्यानमा राख्दै दुवै देशबीच समन्वय गरेर काम अगाडि बढाइने उल्लेख गरे।
स्थानीय तहमा देखिँदै आएका सीमा विवाद समाधान, भूमि व्यवस्थापनमा स्पष्टता ल्याउने तथा सीमाक्षेत्रमा बसोबास गर्ने नागरिकको सुरक्षामा सुधार ल्याउने लक्ष्यका साथ यो पहल अघि बढाइएको हो। यसले भविष्यमा सीमा सम्बन्धी विवाद न्यूनीकरण गर्न महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।
![]()