डोटी — बडिकेदार गाउँपालिका भित्र पर्ने कापडी गाड, ठूली गाड, जोराइली गाड र गडसेरी गाड को तीव्र कटानका कारण यहाँको प्रमुख बजार क्षेत्र नै उच्च जोखिममा परेको छ।
नदी किनारमा रहेका घर तथा पसलहरू क्रमशः भासिँदै गएका छन् भने संरचनामा चिरा देखिन थालेको छ। वर्षायाम नजिकिँदै जाँदा जोखिम झन् बढ्ने त्रासले स्थानीयवासी चिन्तित बनेका छन्।
यो बजार डोटी जिल्लाकै एक महत्वपूर्ण व्यापारिक केन्द्रका रूपमा चिनिन्छ। तर अवस्था गम्भीर बन्दै जाँदासमेत सम्बन्धित निकायबाट कुनै प्रभावकारी पहल नदेखिएको भन्दै स्थानीय आक्रोशित बनेका छन्।
यस विषयमा स्थानीयवासी गणेश बम ले स्पष्ट रूपमा असन्तुष्टि व्यक्त गरेका छन्। “स्थानीय सरकारले त झन् केही गरेकै छैनउ। हरेक वर्ष समस्या दोहोरिन्छ, तर समाधानका लागि कसैले चासो देखाएको छैन,” उनले भने।
उनका अनुसार पानी पर्ने बित्तिकै बाढीको डरले घर छोडेर डाँडातिर भाग्नुपर्ने बाध्यता रहेको छ।
स्थानीयले तत्काल पक्की तटबन्ध निर्माण, नदी नियन्त्रण तथा जोखिममा रहेका बस्तीको संरक्षणका लागि प्रभावकारी कदम चाल्न माग गरेका छन्। समयमै ध्यान नदिए ठूलो क्षति हुन सक्ने चेतावनी समेत उनीहरूले दिएका छन्।
![]()