Clickable Banner Ad

लापरवाहीको समाचार बाहिरिएपछि अस्पतालको फोन आतंक: बिरामीका आफन्तसँग सोधपुछ, कल रेकर्डसमेत गरेको आरोप

दोधारा चाँदनी- भीमदत्तस्थित महाकाली प्रादेशिक अस्पताल मा उपचार सेवामा लापरवाही भएको समाचार सार्वजनिक भएपछि अस्पतालका कर्मचारीहरूले बिरामीका आफन्तलाई फोन गरेर सोधपुछ गरेको र कल रेकर्डसमेत गरेको आरोप लागेको छ।

Advertisement

बिरामीका आफन्तका अनुसार अस्पतालको सेवा लापरवाहीबारे समाचार बाहिरिएलगत्तै अस्पतालका कर्मचारीहरूले पटक–पटक फोन गरेर घटनाबारे सोधपुछ गरेका थिए। फोनका क्रममा कुराकानी कल रेकर्डसमेत गरिएको उनीहरूको भनाइ छ।

समाचार बाहिरिएपछि अस्पतालका कर्मचारीहरूले बारम्बार फोन गरेर सोधपुछ गरिरहेका छन्, मेरो कलसमेत रेकर्ड गरिएको छ, बिरामीका एक आफन्तले दोधारा चाँदनी खबरसँग बताए।

यसअघि गम्भीर स्वास्थ्य समस्यासहित बिरामीलाई अस्पताल ल्याउँदा समयमै चिकित्सक उपलब्ध नभएको भन्दै आफन्तले गुनासो गरेका थिए। उनका अनुसार शनिबार बिहान करिब ५ बजे हार्ट फेलियर, खुट्टामा सुजन तथा पेट र फोक्सोमा पानी भरिएको अवस्थामा बिरामीलाई अस्पताल ल्याइए पनि करिब २ घण्टासम्म चिकित्सक भेटिएका थिएनन्। सरकारी बिदा भएको भन्दै फिजिसियन सेवा उपलब्ध नभएको र आपतकालीन कक्षमा समेत चिकित्सक नभएको उनीहरूको भनाइ छ।

पछि बाहिर मेडिकलमा बसेका सरकारी चिकित्सकलाई भेटेर सल्लाह लिएपछि सुझाइएका परीक्षणका लागि अस्पतालमै जाँच गराइएको थियो। बिरामीको स्वास्थ्य बिमा हुँदाहुँदै पनि परीक्षण बिमाबाट नहुने भनिएपछि आफन्तले आफ्नै खर्चमा परीक्षण गराएका थिए।

तर परीक्षणपछि रिपोर्ट लिन जाँदा पैसा तिरेर गराइएको जाँचको अधुरो रिपोर्ट मात्र दिइएको आरोप उनीहरूले लगाएका छन्। गुनासो बढेपछि अस्पताल प्रशासनले पछि मात्रै सम्बन्धित कर्मचारीलाई बोलाएर पूर्ण रिपोर्ट प्रिन्ट गरेर उपलब्ध गराएको बताइएको छ।

संयोगवश सोही समयमा कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २ बाट विजयी भएका दिपक बोहरा पनि अस्पताल पुगेका थिए। उनले अस्पतालको सेवा अवस्थाबारे जानकारी लिएर फर्किएको बताइएको छ।

यस घटनाले सरकारी अस्पतालको सेवा प्रवाह, बिरामीप्रतिको जिम्मेवारी र प्रशासनिक व्यवस्थापनमाथि गम्भीर प्रश्न उठाएको छ।

Loading

Advertisement
Advertisement