Clickable Banner Ad

कञ्चनपुर–३ मा यसपटकको निर्वाचन : पुरानो प्रभाव, नयाँ चुनौती र मतदाताको निर्णायक भूमिका

दोधारा चाँदनी- कञ्चनपुर–३ को राजनीतिक माहोल यसपटक असाधारण रूपमा फेरिएको छ। लामो समयसम्म केन्द्रमा रहँदै आएका रमेश लेखक उम्मेदवार नबन्दा चुनावी समीकरण नै नयाँ ढाँचामा गएको छ। ०५६ सालदेखि संसदीय राजनीतिमा सक्रिय उनी २०६४ बाहेक हरेक निर्वाचनमा यही क्षेत्रबाट प्रतिस्पर्धा गर्दै आएका थिए। तर यसपटक नेपाली काँग्रेस ले पूर्वजिल्ला सभापति हरिप्रसाद बोहरा लाई उम्मेदवार बनाउने निर्णय गर्‍यो।

Advertisement

सुरुआतमा केही असन्तुष्टि देखिए पनि लेखक स्वयं बोहोराको पक्षमा खुलेर उत्रिएपछि पार्टीभित्रको मतभेद धेरै हदसम्म साम्य भएको देखिन्छ। केन्द्रदेखि स्थानीय तहसम्म संगठनलाई एकताबद्ध गर्दै अघि बढ्ने सन्देश दिन काँग्रेस सक्रिय देखिएको छ। बोहोराले सुक्खा बन्दरगाह सम्पन्न गर्ने, धार्मिक पर्यटन विस्तार गर्ने, महाकाली नदीमा डुङ्गा सञ्चालन सुरु गर्ने, ब्रह्मदेव क्षेत्रमा केबलकार निर्माण अघि बढाउने र महाकाली करिडोरलाई चीनसँग जोड्ने जस्ता ठूला पूर्वाधार एजेन्डा सार्वजनिक गरेका छन्।

यता नेकपा एमाले ले डा. दीपकप्रकाश भट्ट लाई मैदानमा उतारेको छ। २०७४ मा वाम गठबन्धनको समर्थनमा लेखकलाई पराजित गरेका भट्ट शालीन र अध्ययनशील नेताका रूपमा चिनिन्छन्। उनले जोगबुढा र रौटेला नदीमा तटबन्ध, महाकालीमा पक्की तटबन्धसहित चक्रपथ, तथा मझगाउँ विमानस्थल सञ्चालनलाई प्राथमिकता दिएका छन्। तर युवा मतदातामाझ बढ्दो असन्तुष्टिलाई सम्बोधन गर्नु उनका लागि चुनौतीपूर्ण बन्न सक्छ।

नेपाल कम्युनिस्ट पार्टी बाट मानबहादुर सुनार चुनावी दौडमा छन्। प्रदेश सरकारका पूर्वकृषि राज्यमन्त्री सुनारले भीमदत्त र वेदकोट क्षेत्रमा बाढी नियन्त्रण, सुक्खा बन्दरगाह तथा एकीकृत जाँच चौकी सञ्चालन, र मझगाउँ विमानस्थललाई नमुना विमानस्थलका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। तर संगठन सुदृढीकरण उनको मुख्य आवश्यकता देखिन्छ।

राष्ट्रिय स्वतन्त्र पार्टी ले पत्रकारिता पृष्ठभूमिका ज्ञानेन्द्र महता लाई अघि सारेको छ। पुराना दलप्रति बढ्दो असन्तुष्टि र मुख्य प्रतिस्पर्धी दलभित्रका आन्तरिक समीकरणलाई अवसरका रूपमा हेर्दै रास्वपा सक्रिय देखिन्छ।

२०७९ को निर्वाचनमा रमेश लेखक ३० हजार ५७५ मतसहित विजयी भएका थिए भने एमालेकी निरुदेवी पाल ले १८ हजार ४८५ मत प्राप्त गरेकी थिइन्। समानुपातिकतर्फ काँग्रेस, एमाले, राप्रपा, रास्वपा र माओवादी केन्द्रले उल्लेख्य मत ल्याएका थिए, जसले यस क्षेत्रको बहुदलीय प्रतिस्पर्धालाई संकेत गर्छ।

यो निर्वाचन क्षेत्रअन्तर्गत दोधारा–चाँदनी नगरपालिका, भीमदत्त नगरपालिका र वेदकोट नगरपालिका–८ पर्छन्। प्रमुख दलसँगै अन्य साना दल र स्वतन्त्र उम्मेदवारसमेत मैदानमा छन्, जसले मत विभाजनको सम्भावना बढाएको छ।

समग्रमा, कञ्चनपुर–३ मा यसपटकको प्रतिस्पर्धा केवल दलबीचको लडाइँ मात्र होइन। यहाँ नयाँ नेतृत्वको परीक्षण, पुराना प्रभावको निरन्तरता र मतदाताको मनोविज्ञानबीचको सन्तुलनको परीक्षा हुँदैछ। परिणामले सुदूरपश्चिमको राजनीतिक दिशामै प्रभाव पार्ने आँकलन गर्न थालिएको छ।

Loading

Advertisement
Advertisement