महेन्द्रनगर। स्थानीय तहहरूको कार्यसम्पादन मूल्याङ्कनमा कञ्चनपुर जिल्लाभित्र भीमदत्त नगरपालिका उत्कृष्ट घोषित भएको छ। राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग ले सार्वजनिक गरेको पछिल्लो प्रतिवेदनअनुसार जिल्लाका ९ स्थानीय तह मध्ये भीमदत्तले शीर्ष स्थान हासिल गरेको हो।
आयोगका अनुसार भीमदत्त नगरपालिकाले ६६.६३ अंक प्राप्त गर्दै पहिलो स्थान सुरक्षित गरेको छ। प्रशासन, वित्तीय अनुशासन, सेवा प्रवाह, योजना कार्यान्वयन, पारदर्शिता र सुशासनसम्बन्धी १७ सूचकका आधारमा गरिएको मूल्याङ्कनमा नगरपालिकाले उल्लेखनीय प्रगति देखाएको जनाइएको छ।
यसैगरी बेदकोट नगरपालिका ६५.६७ अंकसहित दोस्रो, शुक्लाफाँटा नगरपालिका ६१.११ अंकसहित तेस्रो र दोधाराचाँदनी नगरपालिका ५५.६८ अंकसहित चौथो स्थानमा रहेका छन्। त्यस्तै बेलौरी नगरपालिका पाँचौं, लालझाडी गाउँपालिका छैटौं, बेलडाँडी गाउँपालिका सातौं, पुनर्वास नगरपालिका आठौं र कृष्णपुर नगरपालिका नवौं स्थानमा सूचीकृत भएका छन्।
आयोगले हरेक वर्ष स्थानीय तहको कार्यसम्पादन, वित्तीय अनुशासन, सेवा वितरणको प्रभावकारिता, सामाजिक क्षेत्रका उपलब्धि, पूर्वाधार विकास, योजना कार्यान्वयनको अवस्था तथा संस्थागत क्षमताको मूल्याङ्कन गर्दै आएको छ। यही नतिजाका आधारमा आगामी आर्थिक वर्ष ०८२/०८३ को वित्तीय हस्तान्तरण र बजेट विनियोजनमा समेत प्रभाव पर्ने जनाइएको छ।
![]()