Clickable Banner Ad

दोधारा चाँदनीमा नागरिक सुनुवाइ सम्पन्न: सीमा सुरक्षा, शान्ति सुरक्षा र प्रशासनिक सेवामा उठे सवाल

दोधारा चाँदनी-दोधारा चाँदनी नगरपालिकामा “हर प्रहर गाउँ र नगरी, टोल टोलमा प्रहरी” भन्ने मूल नाराका साथ नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको आयोजनामा तथा इलाका प्रहरी कार्यालय दोधारा चाँदनीको समन्वयमा कार्यक्रम आयोजना गरिएको हो।

Advertisement

कार्यक्रममा स्थानीय नागरिकहरूले सीमा सम्बन्धी समस्या, शान्ति सुरक्षाको अवस्था, प्रहरीसँगको सहकार्य, नागरिकता, राहदानी तथा राष्ट्रिय परिचयपत्रसँग सम्बन्धित विभिन्न गुनासाहरू खुलस्त रूपमा राखेका थिए। उनीहरूले दैनिक जीवनमा भोग्नुपरेका व्यावहारिक समस्याबारे प्रहरी र प्रशासनको ध्यानाकर्षण गराएका थिए।

नागरिकका गुनासाहरूको जवाफ दिँदै जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक खडकबहादुर खत्रीले सीमा क्षेत्रको सुरक्षा, अवैध गतिविधि नियन्त्रण तथा समुदाय प्रहरी साझेदारीलाई थप प्रभावकारी बनाइने बताए। उनले प्रहरी नागरिकमैत्री सेवा प्रवाहमा प्रतिबद्ध रहेको उल्लेख गर्दै जनताको सहयोगबिना शान्ति सुरक्षा मजबुत हुन नसक्ने धारणा राखे।

त्यसैगरी जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी (स.प्र.जि.अ.) मोहनचन्द्र जोशीले प्रशासनिक सेवासँग सम्बन्धित विषयमा प्रष्ट पारे। उनले नागरिकता, राहदानी तथा राष्ट्रिय परिचयपत्र बनाउन नागरिकले भोग्नुपरेका समस्याहरू समाधान गर्न प्रशासन सधैं तत्पर रहेको बताए। प्रक्रियागत कठिनाइहरू क्रमशः सुधार हुँदै गएको र सेवाग्राहीमैत्री वातावरण बनाउन प्रशासनले निरन्तर ध्यान दिइरहेको उनको भनाइ थियो।

कार्यक्रमको सभापतित्व सहायक प्रमुख जिल्ला अधिकारी मोहनचन्द्र जोशीले गरेका थिए भने प्रमुख अतिथिका रूपमा दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोरकुमार लिम्बूको उपस्थिति रहेको थियो। विशिष्ट अतिथिमा प्रहरी उपरीक्षक खडकबहादुर खत्री सहभागी थिए।

नगर प्रमुख किशोरकुमार लिम्बूले नागरिक सुनुवाइ कार्यक्रमले जनताको समस्या प्रत्यक्ष रूपमा सुन्ने अवसर सिर्जना गरेको उल्लेख गर्दै यस्ता कार्यक्रमले प्रहरी, प्रशासन र नागरिकबीचको दूरी घटाउने विश्वास व्यक्त गरे। उनले स्थानीय तह, प्रहरी र प्रशासनबीच समन्वय बढाएर नागरिकका समस्याको समाधान गर्न नगरपालिका तयार रहेको बताए।

कार्यक्रममा जनप्रतिनिधि, व्यवसायी, शिक्षक, बैंक तथा विभिन्न संघ संस्थाका कर्मचारी, स्थानीय अगुवा र सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो।

Loading

Advertisement
Advertisement