Clickable Banner Ad

नदीजन्य पदार्थमा रोक हटेपछि दोधारा चाँदनीका उपभोक्तालाई राहत

दोधारा चाँदनी (कञ्चनपुर)।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र अन्तर्गत पर्ने दोधारा चाँदनीका उपभोक्ताले अब घरायसी प्रयोजनका लागि ढुंगा, गिट्टी, बालुवा प्रयोग गर्न पाउने भएका छन्।

Advertisement

सर्वोच्च अदालतले जारी गरेको अन्तरिम आदेशपछि चार वर्षदेखि रोकिएको नदीजन्य पदार्थ प्रयोग पुनः सुरु भएको हो।

नियम विपरीत राजस्व लिएर उत्खनन भइरहेको भन्दै मुद्दा दायर भएपछि निकुञ्जभित्र नदीजन्य पदार्थको प्रयोगमा रोक लागेको थियो। तर सर्वोच्च अदालतले उपभोक्ताको मर्का बुझ्दै अन्तरिम आदेश जारी गरेपछि रोक हटेको हो।

रोकका कारण स्थानीयले घर निर्माणलगायतका भौतिक पूर्वाधारका लागि प्रतिट्रली दुई हजारसम्म खर्च गर्न बाध्य थिए। रोक हटेसँगै अब उपभोक्ताले सहज रूपमा घरायसी प्रयोजनका लागि नदीजन्य पदार्थ प्रयोग गर्न सक्ने भएका छन्।

निकुञ्जका नौ मध्यवर्ती समितिअन्तर्गत रहेका ४८ सामुदायिक वनका करिब २० हजारभन्दा बढी बासिन्दा यो सुविधाको दायरामा आएका छन्।

निकुञ्जले यसअघि नै वातावरणीय प्रभाव मूल्यांकन (इआइए) कार्य सम्पन्न गरी पञ्चवर्षीय कार्ययोजनामा नदीजन्य पदार्थ उपयोगका प्रावधान उल्लेख गरिसकेको छ। त्यसैका आधारमा कार्यान्वयन सुरु गरिएको जनाइएको छ।

असोज ३१ गतेको निर्णयअनुसार कात्तिक १६ गतेदेखि नियमानुसार राजस्व तिरेर उपभोक्ताले घरायसी प्रयोजनका लागि नदीजन्य पदार्थ प्रयोग गर्न सक्ने व्यवस्था गरिएको छ।

मध्यवर्ती क्षेत्रका उपभोक्ताले आवश्यकताका आधारमा मात्र प्रयोग गर्न पाउने, तर भण्डारण वा बिक्री गर्न नपाउने प्रावधान राखिएको छ।

नदीजन्य पदार्थ सहज रूपमा उपलब्ध भएपछि दोधारा चाँदनीका स्थानीय बासिन्दालाई घर निर्माणमा सहजता हुने र खोला, नदी थुनिँदा हुने जोखिम पनि घट्ने अपेक्षा गरिएको छ।

Loading

Advertisement
Advertisement