दोधारा चाँदनी । सरकारले मोटा धानको न्यूनतम समर्थन मूल्य रु. ३४६३.६९ र मध्यम धानको रु. ३६८६.३३ तोकेर खरीद–बिक्री गर्न निर्देशन दिएको छ। तर दोधारा चाँदनी नगरपालिकाका किसान भने अहिले पनि प्रतिक्विन्टल रु. २५०० मा धान बेच्न बाध्य छन्।
जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले कार्तिक १२ गते जारी गरेको सूचनामा सबै उद्योग, व्यापारी र निकायहरूलाई तोकिएको मूल्यभन्दा कममा धान किनबेच नगर्न चेतावनी दिएको थियो। तर दोधारा चाँदनीसहितका गाउँ–बस्तीमा किसानका धान व्यापारीहरूले मूल्य निर्धारणको निर्णय कार्यान्वयन गरेका छैनन्।
किसानहरूका अनुसार स्थानीय बजारमा सरकारले तोकेको मूल्यभन्दा झण्डै रु. १००० कम मूल्यमा धान किन्न व्यापारीहरूले दबाब दिइरहेका छन्। उनीहरूले भनाइमा, “उत्पादन लागत बढेको छ, तर बजार मूल्यले लागत पनि उठ्दैन।”
किसानहरूका गुनासोअनुसार सरकारले तोकेको समर्थन मूल्य कागजमै सीमित रहँदा उनीहरू घाटामा धान बेच्न बाध्य भएका छन्। अब किसानहरूले तोकिएको मूल्य कार्यान्वयनका लागि प्रशासनले ठोस निगरानी र कारबाही गर्न माग गरेका छन्।

![]()