Clickable Banner Ad

धनतेरससँगै सुरु भयो उज्यालोको पर्व तिहार

काठमाडौं । उज्यालोको पर्वका रूपमा मनाइने यमपञ्चक अर्थात् तिहार आजदेखि विधिवत् आरम्भ भएको छ। प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म यो पर्व मनाइन्छ।

Advertisement

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार आज दिउँसो १ः२३ बजेपछि कार्तिक कृष्ण त्रयोदशी तिथि लाग्ने भएकाले आज धनतेरस अर्थात् धन त्रयोदशी पर्व मनाइँदैछ। यही अवसरमा यमदीपदान पनि सुरु हुने समितिका सदस्य एवं धर्मशास्त्रविद् प्रा. डा. देवमणि भट्टराईले बताए।

समितिका अध्यक्ष प्रा. शम्भुप्रसाद ढकालका अनुसार सायंकालमा त्रयोदशी तिथि परेका दिन यमदीपदान सुरु गर्ने र सूर्योदयकालमा त्रयोदशी परेका दिन काग तिहार मनाउने परम्परा छ। यस वर्ष काग तिहार आइतबार परेको छ।

सोमबार बिहान नरक स्नान र कुकुर तिहार मनाइने छ भने बेलुकी लक्ष्मीपूजा हुनेछ। त्यसपछि बुधबार गाई–गोरु, गोवद्र्धन र आत्म (म्ह) पूजा तथा नेपाल संवत् ११४६ को प्रारम्भ हुनेछ।

भाइटिका भने कात्तिक ६ गते बिहीबार परेको छ। समितिका सदस्य लक्ष्मण पन्थीका अनुसार भाइटिकाको शुभ साइत बिहान ११ः३९ बजेका लागि निर्धारण गरिएको छ। दाजुभाइ पश्चिम फर्केर र दिदीबहिनी पूर्व फर्केर टीका लगाउने चलन शास्त्रसम्मत मानिन्छ।

तिहारका अवसरमा देशभर झिलिमिली बत्ती बालेर दीपावली मनाउने परम्परा बढ्दै गएको छ। बत्तीको उज्यालोले राजधानीलगायत सहरहरू उत्सवमय बनेका छन्।

Loading

Advertisement
Advertisement