कञ्चनपुर, असोज ४ ।
श्री शिवशक्ति युवा विकास समाजको पहलमा सनिबार विभिन्न मन्दिरमा सरसफाइ अभियान सञ्चालन गरिएको छ। समाजका अध्यक्ष दिपक दमै र स-सचिव भिम श्रेष्ठको नेतृत्वमा शिव मन्दिर, पूर्णागिरि मन्दिर र देविस्थान मन्दिर परिसरमा सरसफाइ गरिएको हो।

कार्यक्रममा समाजका पदाधिकारी, स्थानीय युवा तथा सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो। सरसफाइ कार्यक्रममा मन्दिर परिसरका फोहर व्यवस्थापन, झाडी सफा गर्ने, वरिपरिको वातावरणलाई आकर्षक र पवित्र बनाउन सहयोग पुर्याउने कार्य गरिएको सहभागीहरूले बताएका छन्।
अध्यक्ष दिपक दमैले धार्मिक स्थल सफा राख्नु सम्पूर्ण श्रद्धालु भक्तजनको साझा जिम्मेवारी भएको भन्दै यस किसिमका अभियानलाई निरन्तरता दिने प्रतिवद्धता जनाए। स-सचिव भिम श्रेष्ठले समाजले सामाजिक, सांस्कृतिक र धार्मिक गतिविधिहरूमा निरन्तर सक्रिय भूमिका खेल्दै आएको जानकारी दिँदै सरसफाइले मात्र होइन, आपसी एकता र सहकार्यलाई समेत मजबुत बनाउने बताए।
स्थानीयवासीहरूले पनि मन्दिर सरसफाइ अभियानले वातावरण स्वच्छ बनाउन मात्र नभई युवालाई सामाजिक उत्तरदायित्वप्रति सजग गराएको प्रतिक्रिया दिएका छन्।