दोधारा चाँदनी। धानबाली भित्र्याएपछि किसानहरू अर्को बाली लगाउने तयारीमा जुटेका छन्। खेत जोत्ने, जमिन सम्याउने, बीउबिजन र मलखादको जोहो गर्ने चटारो चलिरहेका बेला कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकाका किसानलाई भने आवश्यक मलखाद जुटाउन कागजी प्रक्रिया पूरा गर्नुपर्ने बाध्यता छ।
नगरपालिकाका कृषि शाखा प्रमुखका अनुसार मलखाद लिन किसानसँग जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) हुनुपर्ने व्यवस्था छ। लालपुर्जा नभए जग्गासम्बन्धी निस्सा र त्यो पनि नभए सम्बन्धित वडाको सिफारिस अनिवार्य रहेको उनले जानकारी दिए।

तर, किसानहरूले भने मलखाद लिन आवश्यक कागजात जुटाउँदा दिनभरि समय खर्चिनुपर्ने गुनासो गरेका छन्। खेतीपातीको व्यस्त समयमा एक कट्टा मल लिनसमेत विभिन्न कागजपत्र जुटाउनुपर्ने अवस्था रहेको उनीहरूको भनाइ छ।
दोधारा चाँदनी नगरपालिका–१० का स्थानीय खडक भण्डारीले आफ्नो बस्ती २०२२ सालदेखिको भए पनि अहिलेसम्म लालपुर्जा पाउन नसकेको बताए। लामो समयदेखि बसोबास गर्दै आए पनि जग्गाको स्वामित्वसम्बन्धी समस्या समाधान नहुँदा अहिले खेती गर्न आवश्यक मलखाद प्राप्तिमा समेत कठिनाइ भइरहेको उनको गुनासो छ।
“हाम्रो बस्ती २०२२ सालदेखिको हो। अहिलेसम्म लालपुर्जा पाउन सकेका छैनौँ। लालपुर्जा नपाएको पीडा त छँदै छ, अब खेती गर्न मलखाद लिन पनि लालपुर्जा चाहिने भयो। त्यो नभए अरू कागज जुटाउनुपर्ने भएपछि हामीले के गर्ने?” भण्डारीले प्रश्न गरे।
दोधारा चाँदनीका पुराना बस्तीमा बसोबास गर्दै आएका धेरै नागरिकसँग अझै जग्गाधनी प्रमाणपुर्जा नरहेको स्थानीयको भनाइ छ। वर्षौँदेखि खेतीपाती गर्दै आएका किसानका लागि लालपुर्जाको अभाव केवल जग्गाको स्वामित्वमा सीमित नरही कृषि सामग्री प्राप्तिमा समेत समस्या बनेको छ।
खेती लगाउने समयमै मलखाद जुटाउन किसानलाई कठिनाइ हुँदा कृषि उत्पादनमा समेत असर पर्न सक्ने चिन्ता छ। लालपुर्जा नभएका किसानलाई निस्सा वा वडा कार्यालयको सिफारिसमार्फत मलखाद उपलब्ध गराउने व्यवस्था भए पनि त्यसका लागि कागजात जुटाउन लाग्ने समय र प्रक्रियाले किसानलाई थप सास्ती दिएको उनीहरूको गुनासो छ।
वर्षौँदेखि बसोबास गर्दै आएका किसानलाई एक कट्टा मल लिनसमेत दिनभर कागज जुटाउनुपर्ने अवस्था कहिलेसम्म? जग्गाको स्वामित्वसम्बन्धी समस्या समाधान हुन नसकिरहेका नागरिकलाई खेतीपातीका लागि आवश्यक मलखाद सहज रूपमा उपलब्ध गराउन सम्बन्धित निकायले प्रक्रिया सरल बनाउनुपर्ने देखिन्छ।



