दोधारा- कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा तेस्रो उपमेयर कप भलिबल प्रतियोगिता–२०८३ सुरु भएको छ। दोधारा चाँदनी नगरपालिका–९ स्थित अम्बिका माध्यमिक विद्यालयको प्राङ्गणमा सोमबारदेखि विद्यालयस्तरीय महिला तथा वडास्तरीय पुरुष भलिबल प्रतियोगिता सुरु भएको हो।
दोधारा चाँदनी नगर खेलकुद विकास समितिको आयोजनामा सञ्चालन भएको प्रतियोगिताको उद्घाटन नगरपालिकाकी उपप्रमुख गंगा देवी जोशीले रेफ्रीलाई भलिबल हस्तान्तरण गरेर गर्नुभएको थियो। कार्यक्रम नगर खेलकुद विकास समितिका अध्यक्ष तेजबहादुर गिरीको सभापतित्वमा सम्पन्न भएको थियो।

प्रतियोगितामा विद्यालयस्तरीय महिला भलिबलतर्फ ९ टोली र वडास्तरीय पुरुष भलिबलतर्फ ९ टोली गरी १८ टोली सहभागी रहेको उपप्रमुख जोशीले जानकारी दिनुभयो।
प्रतियोगितामा महिला तथा पुरुष दुवैतर्फ विजेता टोलीलाई ट्रफी, प्रमाणपत्रसहित नगद ५१ हजार रुपैयाँ र उपविजेता टोलीलाई ट्रफी, प्रमाणपत्रसहित नगद ३१ हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै उपप्रमुख जोशीले खेलकुद स्वास्थ्यका लागि मात्र नभई आफ्नो वडा, नगर र राष्ट्रको पहिचान स्थापित गर्ने माध्यमसमेत भएको बताउनुभयो। उहाँले खेलाडीलाई आत्मविश्वासका साथ अनुशासित भएर खेल्न आग्रह गर्दै हार र जितलाई स्वाभाविक रूपमा लिनुपर्ने बताउनुभयो।
प्रतियोगिताको पहिलो दिन शारदा र अम्बिका, लक्ष्मी र ध्रुवतारा, युनिक र शंकर तथा भानु र कञ्चनबीच प्रतिस्पर्धा हुने कार्यक्रम रहेको छ।



